कैलाली पुगेर प्रचण्डले मागे बागी उम्मेदवारलाई मत, भने- आफ्नै दलका उम्मेदवारलाई जिताऔँ
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको कैलारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनकै बागी उम्मेदवारलाई नै जिताउन आग्रह गरेका छन् । कैलारीमा सहमतिअनुसार गठबन्धनबाट गाउँपालिकाको अध्यक्षमा माओवादीका लाजुराम चौधरी र उपाध्यक्षमा नेपाली कांग्रेसकी भगवती चौधरी आधिकारिक उम्मेदवार हुन् । माओवादीबाटै निवर्तमान उपाध्यक्ष लक्ष्मी सत्गौवाले पनि उपाध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेकी छन् ।
तर सोमबार विहान कैलारीको हसुलियामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले सहमतिअनुसार गठबन्धनकै उम्मेदवारलाई मत माग्नुपर्नेमा बागी उम्मेदवार सत्गौवाको पक्षमा मत दिएर जिताउन आग्रह गरेका हुन् । ‘उहाँहरुले विगतमा पनि राम्रो काम गरेका थिए, यसपटक पनि सोही टीमलाई मत दिएर विजयी गराउनुहोस्’ उनले भने, ‘यहाँ गठबन्धन पनि क्लिएर भएको छैन । हाम्रै पाटीको उम्मेदवारलाई जिताउनुहोस् ।’
उनले कांग्रेसको तर्फबाट आएका उम्मेदवारी पनि खारेज नभएको भन्दै एक्लै चुनाव लड्नुपर्ने बताए । कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट राजसमझ चौधरीले पनि बागी उम्मेदवारी दिएका छन् ।
प्रचण्डले मत दिई विजयी गराउन आग्रह गरेका उम्मेदवारलाई यसअघि नै गठबन्धन दलहरूले आधिकारिक उम्मेदवार नभएको स्पष्ट पारिसकेका छन् । विज्ञप्तिमा गठबन्धनका उम्मेदवारहरूलाई सघाउन आग्रह गर्दै त्यसविपरित गए कारबाही हुनेसमेत चेतावनीसमेत दिइएको थियो ।