प्रचण्डको आशंका- ‘गठबन्धन क्लियर छैन, कांग्रेसबाट धोका हुन सक्छ’
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साेमबार कैलालीको कैलारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनकै बागी उम्मेदवारलाई नै जिताउन आग्रह गरेका छन् । कैलारीमा सहमतिअनुसार गठबन्धनबाट गाउँपालिकाको अध्यक्षमा माओवादीका लाजुराम चौधरी र उपाध्यक्षमा नेपाली कांग्रेसकी भगवती चौधरी आधिकारिक उम्मेदवार हुन् ।
माओवादीबाटै निवर्तमान उपाध्यक्ष लक्ष्मी सत्गौवाले पनि उपाध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेकी छन् । तर प्रचण्डले सहमतिअनुसार गठबन्धनकै उम्मेदवारलाई मत माग्नुपर्नेमा बागी उम्मेदवार सत्गौवाको पक्षमा मत दिएर जिताउन आग्रह गरेका हुन् । ‘उहाँहरुले विगतमा पनि राम्रो काम गरेका थिए, यसपटक पनि सोही टीमलाई मत दिएर विजयी गराउनुहोस्’ उनले भने, ‘यहाँ गठबन्धन पनि क्लिएर भएको छैन । हाम्रै पाटीको उम्मेदवारलाई जिताउनुहोस् ।’
गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भन्दै उनले आशंकासमेत व्यक्त गरेका छन् । उनले धेरै स्थानमा गठबन्धन ‘क्लियर’ नभएको समेत बताए । ‘बेइमानी र षडयन्त्र स्वीकार्य हुँदैन‚’ अध्यक्ष प्रचण्डले भने, ‘कांग्रेसले यहाँ पनि गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएको छ । त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ । यो अवस्थामा हाम्रोतर्फबाट उपाध्यक्ष पदमा परेको उम्मेदवारलाई जिताउनुपर्छ ।’
उनले कांग्रेसको तर्फबाट आएका उम्मेदवारी पनि खारेज नभएको भन्दै एक्लै चुनाव लड्नुपर्ने बताए । कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट राजसमझ चौधरीले पनि बागी उम्मेदवारी दिएका छन् ।