कैलालीमा मतदान केन्द्र निर्माणदेखि मतदाता शिक्षाको काम धमाधम

धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागि कैलालीमा तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण लगायतको काम धमाधम भइरहेको छ ।

जिल्लामा मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा दिनेलगायतका काम भइरहेको हो ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्यका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम सुरु भइसकेको बताए । उनले अधिकांश मतदान केन्द्रमा बुथ निर्माण भइसकेको र बाँकी रहेकाहरूमा बिहीबारसम्म निर्माण पूरा हुने बताए ।

जिल्लाका अधिकांश विद्यालयका भवनलाई मतदानस्थल र केन्द्र तोकिएको छ । जिल्लाका १३ पालिका तहमा कूल पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन् । पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा चार लाख तीन हजार २८० मतदाता थिए ।

पालिकाहरूमा निर्वाचनका क्रममा पालना गर्नुपर्ने विषयतका विषयमा छलफल गर्न सर्वदलीय बैठक पनि बसेका छन् । बैठकमा निर्वाचनस्थलमा भएको सर्वदलीय बैठकमा मौन अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता, मतगणना कार्य र मतगणना प्रतिनिधिको नामावली लगायतका विषयमासमेत छलफल गरिएको छ । दलहरूले निर्वाचन आचारसंहिता पालना गर्न र गराउने विषयमा प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन गराउन जिल्लाका सबै १३ पालिकामा झण्डै तीन हजार ९०० कर्मचारी परिचालन गरिएको निर्वाचन कार्यालय कैलालीले जनाएको छ । यी पालिका तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

कैलालीमा ५२ मतदानस्थललाई अति संवेदनशील, ५३ मतदानस्थललाई संवेदनशील र बाँकी १३१ मतदानस्थललाई सामान्य मतदानस्थलको सूचीमा राखेर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गरिएको छ । कैलालीमा ६५६ पदका लागि तीन हजार ७२ जना प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *