बाब्लामा एमालेका कार्यकर्ताको अवरोध, मतदान केन्द्रमा तोडफोड
काठमाडौँ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लास्थित मतदान केन्द्रमा एमालेका कार्यकर्ताले अवरोध गरेका छन् । उनीहरूले मतदान स्थल उपस्थित नभएकाहरूको नामबाट मतदान थालेपछि रोक्न खोज्दा अवरोध गरेका हुन् ।
त्यहाँ एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । ‘नगरपालिका १३ बाल्बास्थित राष्ट्रिय उमावि मतदान केन्द्रमा बिहानदेखि सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको थियो ।,’ स्रोतले भन्यो, ‘एमालेका कर्याकर्ताले उपस्थित नै नभएकाहरूको नामबाट मतदान गर्न थालेपनि रोक्न खोज्दा अवरोध भयो । उनीहरू आक्रमणमा उत्रिएपछि दोहोरो झडप भयो, केही साथीहरू घाईते हुनुभएको छ ।’
झडपमा १ दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएको छ । अहिले मतदान पनि रोकिएको छ । दुई पक्षबीच झडप हुँदा मतदान केन्द्रसमेत तोडफोड भएको छ । मतपत्र च्यातिएको र सामाग्रीमा पति क्षति पुगेकोले त्यहाँको मतदान कसरी सुचारु गर्ने भन्नेबारे अन्योल भएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेपछि मात्रै मतदान आजै सुचारु गर्ने वा सार्ने भन्ने टुंगो लाग्नेछ ।