बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता
काठमाडौँ । बागलुङका तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन्। नेकपा (एमाले)का पूर्ण काउचाले ३५० र स्वतन्त्र उम्मेदवार मञ्जु शर्माले १५९ पाएका छन्। उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४९४ मतले अग्रता लिएका छन्। एमालेकी रूपा विकले ३६५ र स्वतन्त्र उमेदवार तिलक उप्रेतीले ५५ मत पाएका छन्।
त्यस्तै, ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले २९४ मतले अग्रता लिएका छन्। एमालेका ऋषिराम रोकाको ५२ र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको ९४ मत छ। उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोकाले २९६ , एमालेकी थममाया घर्तीले १०२ मत पाएका छन्।
निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ। अध्यक्षमा कांग्रेसका सूर्यबहादुर घर्तीले १४७ मतले अग्रता लिएका छन्। एमालेका भूमिराज घर्तीमगरले ११३ मत पाएका छन्। उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १०५ र एमालेका भोटु चन्दले ७४ मत पाएका छन्।
जिल्लाका अन्य सात पालिकामा पनि मतगणनाको तयारी भइरहेको छ।