मतगणनास्थल राष्ट्रिय सभागृहमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
सो स्थलमा मतगणनाकार्य सम्पन्न नभएसम्म उपस्थिति हुने उम्मेदवार, निर्वाचन सम्पन्न गराउन खटिएका मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र स्वयंसेवकसमेतलाई रक्तचाप परीक्षण, अन्य आवश्यक प्राथमिक उपचारलगायतलाई ध्यान राखेर शिविर सञ्चालन गरिएको अस्पतालका जनसम्पर्क अधिकृत धनप्रसाद घिमिरेले जानकारी दिए ।
लायन्स क्लब काठमाण्डू, युनिकका चिफ गणेश केसीले शिविरमा कुनै व्यक्तिलाई स्वास्थ्यमा कठिनाइ भएमा तत्काल अस्पताल लैजान तयारी हालतमा एम्बुलेन्सलाई पनि सभागृहमै राखिएकाले सो शिविरको सदुपयोग गर्न आग्रह गरे ।
मुलुकककै सबैभन्दा ठूलो महानगरको मतगणना आज बिहानदेखि सुरु भएको थियो ।