दाङका पालिकामा कांग्रेस र वडामा एमालेको वर्चस्व
काठमाडौँ । दाङका पालिकामा कांग्रेसले वर्चस्व जमाएको छ, भने वडामा नेकपा (एमाले) अगाडि छ । दश स्थानीय तहमध्ये कांग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र)ले तीन र एमालेले दुई स्थानीय तहमा जित हात पारेको छ ।
दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ । घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डीसी विजयी भएका छन् भने तुलसीपुर उपमहानगरको नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन् । त्यस्तै, कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दङ्गीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजयी हासिल गरेको छ । यी पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जित हात पारेको हो ।
त्यस्तै, माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ । यी तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन् । राप्तीको उपप्रमुखमा एमाले, बङ्गलाचुली र गढवाको उपप्रमुखमा कांग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रीतेन्द्रबहादुर थापाले बताए । दाङमा १० स्थानीय तह छन् ।
वडामा भने एमालेले धेरै सिट जितेको छ । एक सय वडा रहेको दाङमा एमाले ४० वडाध्यक्ष जित्न सफल भएको छ । त्यस्तै कांग्रेसले ३७ र माओवादी केन्द्रले १९ वडा जितेको छ । त्यस्तै, एकीकृत समाजवादी र जनमोर्चाले एक-एक तथा स्वतन्त्रले दाङमा दुई वडा जितेको छ ।
घोराहीमा १३ वडा एमालेले जितेको छ भने पाँच वडा कांग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । तुलसीपुरमा १९ वडामध्ये १० वडा एमालेले, पाँच वडा कांग्रेस, तीनमा माओवादी केन्द्र र एउटा स्वतन्त्रले जितेको छ । लमही नगरपालिकामा आठ वडा कांग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । राप्ती गाउँपालिकामा एमालेले चार, माओवादी केन्द्रले दुई, कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीले एक-एक वडा जितेका छन् ।
गढवामा माओवादी केन्द्रले चार, एमालेले दुई र कांग्रेसले दुई वडा जितेको छ । दङ्गीशरण गाउँपालिकामा चार वडा एमालेले जितेको छ भने तीन वडा कांग्रेसले जितेको छ । बङ्गलाचुली गाउँपालिकामा चार वडा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने चार वडा कांग्रेसले विजयी हासिल गरेको छ । बबई गाउँपालिकामा कांग्रेसले चार र एमालेले तीन पालिका जितेको छ ।
राजपुर गाउँपालिकामा माओवादी केन्द्रमा तीन एमाले र कांग्रेसले दुई-दुई वडा जितेका छन् । शान्तिगरमा कांग्रेसका तीन, एमालेका दुई, माओवादी र स्वतन्त्रका एक-एक वडाध्यक्ष निर्वाचित भएका छन् ।