मङ्कीपक्स : लक्षण र नियन्त्रण
हाल विश्वभरका वैज्ञानिक मङ्कीपक्सको सङ्क्रमणबारे खोजी गरिरहेका छन् । युरोप र उत्तरी अमेरिकाका १५ भन्दा बढी देशमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ । अब यो विश्वव्यापी रूपमा फैलने हो की भन्ने त्रास बढ्दै गएको छ ।
के हो मङ्कीपक्स ?
सबैभन्दा पहिले सन् १९५८ मा बाँदर नै बाँदर भएको एउटा कोलोनीमा मङ्कीपक्स देखिएको थियो । मङ्कीपक्स पहिलो मानव सङ्क्रमण भने सन् १९७० मा कङ्गोमा रेकर्ड भएको थियो । सन् १९७० देखि अफ्रिकी मुलुकमा यो रोगको सङ्क्रमण लगातार बढ्दै गएको देखिएको छ ।
मङ्कीपक्स जनावरबाट हुने सङ्क्रमण हो । यसको भाइरस फिरको भाइरससँग मिल्दोजुल्दो हुन्छ । यो सङ्क्रमण मुसा र बाँदरजस्ता जनावरमा हुने गर्छ । ती जनावरले टोकेमा वा चिथोरेमा यो सङ्क्रमण अर्को जनावर र मानिसमा समेत सर्दछ । सङ्क्रमित जनावरको मासु खाएमा र र्यालबाट पनि सङ्क्रमण फैलिन्छ ।
सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा भने शरीर र घाउबाट निस्कने तरल पदार्थबाट सर्दछ । यो सजिलै फैलँदैन । सङ्क्रमण पत्ता लागेपछि लापरबाही गरेमा मात्रै मङ्कीपक्स भाइरस सर्दछ । अफ्रिका बाहिर यो भाइरसको सङ्क्रमण यसअघि कहिल्यै भएको थिएन । अहिले अफ्रिकाभन्दा बाहिरको देशमा यो भाइरस फैलिएको पहिलो पटक हो । विश्वभरि १३० भन्दा बढी व्यक्तिमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको डब्लूएचओले जनाएको छ ।
मङ्कीपक्सका लक्षणहरू
मङ्कीपक्सको सुरुवाती लक्षण भनेको ज्वरो आउनु हो । त्यसपछि टाउको दुख्नु, शरीरमा स–साना तर फराकिला दानाहरू देखिन सुरु हुन्छ । त्यसपछि ती दानाहरूमा २ देखि ३ दिनसम्म पिप जम्मा हुन्छ । पिपले भरिएको छाला ५ देखि ७ दिनसम्म रहन सक्छ । त्यसपछि लगातार छाला फुस्रिन थाल्छ ।
ज्वरो आएदेखि पिप भरिएको घाउ निको नभएसम्म नै यो सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना बराबर हुन्छ । मङ्कीपक्स विफरको भाइरसको परिवारमा परे पनि यी दुईमा फरक छ । विफरको सङ्क्रमण भएकाहरूमध्ये मृत्यु हुनेको दर ३० प्रतिशतसम्म छ । मङ्कीपक्सले आजसम्म १ प्रतिशतभन्दा कम मानिसको मृत्यु भएको छ ।
रोकथामका उपायहरू
विज्ञहरूले बिफरको भ्याक्सिन लगाए मङ्कीपक्सबाट बच्न सकिने बताएका छन् । अर्को कुरा सन् २०१९ मा मङ्कीपक्सको लागि छुट्टै भ्याक्सिन पत्ता लागेको छ । यो विश्वभर भने उपलब्ध छैन । उपलब्ध भएको ठाउँ जस्तै अमेरिकामा पनि यो सर्वसाधारणको लागि भने उपलब्ध छैन । यो विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने व्यक्तिका लागि मात्रै उपलब्ध छ ।
बिफरको लागि बनाएको भ्याक्सिनले मङ्कीपक्सको लागि काम गर्छ भन्ने प्रमाणित भइसकेको छ । विज्ञहरूले यो भाइरस खतरनाक भए पनि कोरोना महामारी जस्तो खतरनाक नभएको बताएका छन् ।
यसरी आधुनिक मानिसको समुदायमा मङ्कीपक्स फैलिएको यो पहिलो पटक हो । यस्ता भाइरस फैलिनुमा जलवायु परिवर्तनको पनि भूमिका हुने विज्ञहरू बताउँछन् । भ्याक्सिनले रोकथाम गर्न सक्ने भएकाले विश्वव्यापी रूपमा मङ्कीपक्सबाट बच्न भने बिफरको भ्याक्सिन लगाउनु पर्छ ।
–मायो क्लिनिकबाट