कञ्चनपुरमा प्रमुख-उपप्रमुखमै २८ प्रतिशत मत बदर
काठमाडौँ । नौवटा पालिका रहेको कञ्चनपुरमा नगरप्रमुख/उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ ।
स्थानीय तहको निर्वाचन सकिएपछि यहाँस्थित जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क हेर्दा २८.६८ प्रतिशत मत पालिकाको नेतृत्व तहको पदमा बदर भएको देखिएको छ । मतदाता शिक्षाको कमी, दलीय गठबन्धनबारे मतदाताको अलमललगायतका कारणले प्रमुख-प्रमुख पदमै बढी बदर भएको हो ।
निर्वाचन कार्यालयको तथ्याङ्क हेर्दा कञ्चनपुर सदरमुकाम रहेको भीमदत्त नगरपालिकामा सबैभन्दा बढी नगरप्रमुख र उपप्रमुख पदमा मत बदर भएको देखिएको छ । दुई लाख पाँच हजार २५० मत खसेको कञ्चनपुरमा ५८ हजार ८६२ मत नगरप्रमुख र उपप्रमुखका साथै गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा बदर भएको छ ।
भीमदत्तनगरमा कूल ४२ हजार ७४९ मत खसेकोमध्ये नगरप्रमुख पदमा सात हजार ५३५ मत र उपप्रमुखमा छ हजार ९३८ मत बदर भएको छ । नगर प्रमुख र उपप्रमुखमा यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
त्यसैगरी, यहाँको दोधारा–चाँदनीमा नगर प्रमुखमा एक हजार ४८७ र उपप्रमुखमा एक हजार ६८० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । महाकाली नदीपारीको दोधारा–चाँदनीमा कूल १८ हजार ३१९ मत खसेको थियो । यहाँ नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा कांग्रेस उम्मेदवारी विजयी भएका छन् ।
त्यस्तै, नगरप्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसले जितेको वेदकोट नगरपालिकामा कूल २२ हजार २९३ मत खसेको थियो । यहाँ नगरप्रमुखमा तीन हजार ६५६ र उपप्रमुखमा तीन हजार ७५६ मत बदर भएको तथ्याङ्कले देखाएको छ । नगरप्रमुख र उपप्रमुखमा मात्रै नभएर वडाध्यक्षदेखि वडा सदस्य, महिला सदस्यसम्ममा मत बदर भएको देखिन्छ । जसका कारण धेरैजसो पालिकामा झिनो मतान्तरले जीत र हारको परिणामसमेत निस्केको छ ।
त्यसैगरी, यहाँको शुक्लाफाँटा नगरपालिका पनि प्रमुख र उपप्रमुखलगायत वडाको सदस्यसम्म बदर मतबाट अछुतो छैन् । शुक्लाफाँटाको नगरप्रमुखमा दुई हजार ९८९ मत र उपप्रमुखमा तीन हजार ९१९ मत बदर भएको छ । यहाँ नेकपा (एमाले)का उम्मेदवार नगरप्रमुख र नेपाली कांग्रेसका उम्मेदवार उपप्रमुख जितेका थिए । यहाँ कूल २२ हजार ४२७ मत खसेको थियो ।
त्यसैगरी, कृष्णपुर नगरपालिकामा २८ हजार ९४६ मत खसेको थियो । जसमा प्रमुखमा दुई हजार ७६७ र उपप्रमुखमा तीन हजार ५३५ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ । यहाँ प्रमुख र उपप्रमुख पद दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएर पालिकाको कामकाज अघि बढाइसकेका छन् ।
यहाँको दक्षिण क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख बन्नुभएको छ । तेइस हजार ६०८ मत खसेको पुनर्वासमा नगरप्रमुखमा चार हजार २९९ र उपप्रमुखमा चार हजार ३६२ मत बदर भएको छ ।
यहाँको बेलौरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का पातिलाल चौधरी दोस्रो पटक प्रमुखमा निर्वाचित भएका छन् । यहाँ उपप्रमुख भने नेकपा एमालेबाट निर्वाचित भए । पच्चीस हजार ७३७ मत खसेको बेलौरी नगरपालिकामा नगरप्रमुखमा दुई हजार ८१९ र उपप्रमुखमा दुई हजार ९५० मत बदर भएको देखिन्छ ।
त्यसैगरी, यहाँको बेल्डाँडी गाउँपालिकामा समेत मत बदर भएको छ । यहाँ पालिका अध्यक्षमा एक हजार ३७२ र उपाध्यक्षमा एक हजार ६४३ मत बदर भएको छ । नौ हजार ८३६ मत खसेको बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष-उपाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यसैगरी, यहाँको राना थारु समुदायको बाहुल्य भएको लालझाडी गाउँपालिकामा अध्यक्षमा एक हजार ४११ र उपाध्यक्षमा एक हजार ७४४ मत बदर भएको छ । एघार हजार ३३५ मत खसेको यहाँ नेकपा एमालेका उम्मेदवारले अध्यक्ष-उपाध्यक्ष जितेका थिए । दुई लाख ९५ हजार ३५४ मतदाता रहेको कञ्चनपुरमा ९० हजार १०४ जना मतदानमा सहभागी भएनन् ।