मिरुनाले लेख्छिन्- अन्यायविरुद्ध सधैँ लडौँ
काठमाडौँ । नायिका मिरुना मगरले आफूले धर्मविरुद्ध नभएर दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।
कबड्डी-४ की नायिका मिरुनाले फिल्म हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् । तामाङले दुर्व्यवहार गरेको भन्दै माफी मगाएकी मिरुनाले प्रहरीमा उजुरी गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए ।
यद्यपि तामाङले आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेर उनीहरुबीच मिलापत्र भइसकेको छ । उनीहरुबीच मिलापत्र भइसकेपनि सामाजिक सञ्जालमा धर्मलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको छ । सोही विषयलाई नायिका मगरले स्पष्ट पार्दै आफूले धर्मको विरुद्ध नभई दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताएकी हुन् ।
उनले अन्याय एवं हिंसाविरुद्ध लड्न आम महिलालाई आग्रह गरेकी छन् । उनले भनेकी छन्- ‘कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।’
अन्यायविरुद्ध लड्न अहिले कठिन भएपछि भोलिका दिनमा अवश्य परिवर्तन हुने मिरुनाले विश्वास व्यक्त गरेकी छन् । ‘कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन,’ उनले भनेकी छन् ।