चालू अधिवेशनबाट प्रदेश १ को नाम टुङ्ग्याउने एमाले-कांग्रेसबीच सहमति
विराटनगर । नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रदेश १ को नामाकरण चालू अधिवेशनबाट टुङ्ग्याउने सहमति भएको छ । नेकपा एमालेले बनाएको नामाकरण सहजीकरण तथा समन्वय समितिको पहलमा एमाले र कांग्रेबीच सहमति भएकाे हाे । कांग्रेस संसदीय दलका नेता र प्रमुख सचेतकसहित बसेको बैठकले यसै अधिवेशनबाट प्रदेशको नाम प्रदेश सभामा ल्याउने सहमति गरेकाे हाे ।
नेकपा एमाले संसदीय दलले बनाएको प्रदेशको नामाकरण सहजीकरण समितिका संयोजक हिक्मतकुमार कार्कीसहित सदस्यहरू जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, अर्जुन राईसहित नेपाली कांग्रेस संसदीय दलका नेता राजीव काेइराला, प्रमुख सचेतक सूयर्मायराज राई र लिला सुब्बासहित बसेको बैठकले प्रदेशको नामाकरण यसै अधिवेशनमा टुंगो लगाउने निर्णय गरेको हो ।
आज नेपाली कांग्रेससँग छलफल गरेको एमालेले भाेलि र पर्सी अन्य दलहरूसँग छलफल गरी प्रदेश सरकारसँग नामाकरणको बारेमा छलफल गर्ने तयारी भएको सहजीकरण समितिका संयोजक हिक्मतकुमार कार्कीले बताए । ‘आज नेपाली कांग्रेससँग यसै अधिवेशनमा नाम टुंगो लगाउने बारेमा सहमति भएको छ,’ उनले भने, ‘भाेलि अन्य दलहरूसँग बसेर सहमति खोज्छौँ, त्यसपछि सरकारसँग बस्ने योजना छ ।’
सुरुवाती छलफलमा प्रदेशको नाम यसै अधिवेशनबाट टुंगो लगाउने भन्ने सहमति खोज्ने र दोश्रो चरणमा कुन नामलाई सर्वमान्य बनाउने भन्ने बारेमा छलफल हुने एमालेले जनाएको छ । संयोजक कार्कीकाअनुसार साझा नाम र साझा सहमतिकाे आधारमा प्रदेशको नामाकरणको पहल हुनेछ ।