अटिजम भएका बालबालिका पढाउने विद्यालय खोल्न विशेष कार्निभल आयोजना हुँदै

काठमाडौँ । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी ४ असारमा एक विशेष कार्निभल आयोजना गर्ने भएको छ ।
स्कुल फर स्पेसल्स् प्रोजेक्टको रुपमा उक्त संस्थाले पहिलो चरणमा काठमाडौँ उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि सहयोग गर्ने लक्ष्यसमेत राखेको छ ।

स्कुल फर स्पेसल्स् प्रोजेक्टको पहिलो विद्यालय निर्माणका लागि राउण्ड टेबल नेपालकै सदस्यले निःशुल्क प्रयोगकका लागि दिएको जग्गामा विद्यालय निर्माण गर्ने विकल्पसहित आफ्नै जग्गा खरिद गर्नेसम्मका योजना रहेका छन् । जसको पहिलो पाइलाको रुपमा यो फण्ड रेजर इभेन्ट आयोजना गर्न लागिएको जनाएको छ ।

आर्थिक रुपमा यस परियोजनाका सहयोगीलाई दबाब नपर्ने र आर्थिक गतिविधिसमेत हुने र प्रायोजकले व्यवसायिक कार्यक्रम जस्तै लाभ हासिल गर्न सक्ने यस्तै कार्यक्रम राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्दै जाने राउण्ड टेबल नेपालको योजना रहेको जनाएको छ ।

दि मल्ल होटलमा आयोजना गरिने यस विशेष कार्निभलमा मल्ल होटलले स्वादिष्ट खाना पस्किने जनाएको छ ।

संस्थाका अनुसार विभिन्न नेपाली ब्राण्डका वियर, वियर ककटेल, मकटेल लगायतका पेय रहने छन् । बालबालिकाका लागि विशेष खेलहरु हुनेछन् भने डिजे र लाइभ ब्याण्डले रोमान्चक माहौल बनाउनेछन् । ‘जुन वियर कार्निभल’को नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारिवारिक कार्निभलको संयुक्त रुप हुनेछ । यो कार्यक्रमको प्रवेश टिकट दर १ हजार तोकिएको छ । यसमा एक बोटल वियर निःशुल्क उपलब्ध गराइनेछ भने कार्यक्रमका प्रायोजकले थप भौचरसमेत प्रदान गर्नेछन् ।

यस कार्निभलको आयोजनाको लागि निःशुल्क होटल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो । दि मल्ल होटलकी एशोसिएट डाइरेक्टर अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागि हुन पाउँदा आफू हर्षित भएको बताउँदै यस कार्यक्रमको सफलताका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् ।

डाउन सिन्ड्रोम तथा अटिजमप्रति जनचेतना अभिवृृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाको शिक्षा तथा वैयक्तिक विकासमा सहयोगी बन्ने अभिप्रायका साथ राउण्ड टेबलले यूवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो ।

राउण्ड टेबल नेपालले फ्रिडम थ्रु एजुकेशन शीर्षकमा नेपालको शिक्षा क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । खासगरी सामुदायिक विद्यालयको कक्षा कोठा निर्माणमा अग्रसरता देखाउँदै आएको यस संस्थाको अगुवाइमा ५८ विद्यालयमा ३७३ भन्दा बढी कक्षाहरु र ४० भन्दा बढी ट्वाइलेट ब्लकको निर्माण गरिसकेको छ ।

हालै बागमती प्रदेश मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकाको फाखेलमा रहेको सिंह भैरब विद्यालयमा २ वटा कक्षाकोठा तथा कम्प्यूटर ल्याबको निर्माण गरी हालै विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । जसको उद्घाटन राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले गरेका थिए ।

बच्चाको शिक्षाका लागि किन वियर फेष्टिभल ?
आजका यूवालाई बालबालिकासँग जोड्न सजिलो छैन त्यसमाथि पनि डाउन सिन्ड्रोम तथ अटिजम जस्तो विशेष अवस्था भएका बालबालिका सन्दर्भमा यूवालाई चेतनशील बनाउन पर्याप्त संसाधनहरु नभएको परिप्रेक्ष्यमा यूवाको रोजाइमा पर्ने विषयसँग जोड्ने प्रयत्न गरिएको हो । जसमा खान, पेय र पारिवारीक मनोरञ्जन एकसाथ आउने छन् ।

के हो राउण्ड टेबल नेपाल ?
सन् १९२७ मा ब्रिटेनमा स्थापना भएको राउण्ड टेबल इन्टरनेशनललाई सिके गोल्छाले १९८९ मा नेपाल भित्र्याएका थिए । यूवा उद्यमीको सामाजिक संस्थाको रुपमा पहिचान पाएको राउण्ड टेबल नेपाल सक्रिय सामाजिक सेवामा सदैब तत्पर रहँदै आएको छ ।

३६ हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुनेगरी नेपाल भरका २६ विद्यालयहरुमा १७० भन्दा बढी कक्षा कोठा निर्माणमा सघाउ पुर्याई सकेको राउण्ड टेबलले संचालनमा ल्याने परियोजना स्कुल फर स्पेशल आफ्नो फ्रिडम थ्रु एजुकेशनकै एक्सटेन्सन हो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *