जानकी मेडिकल कलेजको आयोजनामा एकदिने तालिम सम्पन्न

जनकपुर । जानकी मेडिकल कलेजले एकदिने महिला तथा बाल स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न गरेको छ । मंगलवार जनकपुरमा तालिम सम्पन्न भएको हो ।

कलेजले इजरायलको नेपालस्थित राजदुतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटल इजरायलको सयुक्त आयोजनामा तालिम गरेको थियो । तालिममा मेडिकल कलेजका बिद्यार्थी र इजरायलबाट आएका चिकित्सकका टोलीबिच बालबालिका तथा महिला स्वास्थ्य सम्बन्धि सिप एक अर्कालाई सिकाइएको थियो ।

तालिममा महिलामा देखिने स्तन क्यान्सर र स्तन क्यान्सरको उपचारमा प्रयोग हुँने नयाँ बिधिबारे इजरायलबाट आएका चिकित्सकले जानकारी दिएका थिए । तालिममा स्तन क्यान्सरको उपचार बिधि बारे डेमो समेत देखाइएको थियो । त्यस्तै महिलामा गर्भवती अवस्थामा देखिने समस्या र वालस्वास्थ्यको विषयमा समेत ब्यापक छलफल भएको थियो ।

तालिमले नेपाल र इजरायलको सम्बन्धले थप उचाई पाएको जानकी मेडिकल कलेज अस्पतालकी निर्देशक प्रियङ्का शर्माले जानकारी दिईन् ।

यसैबिच कलेजले आइतवार र सोमबार महोत्तरी र धनुषा जिल्लामा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । दुईदिने शिविरमा ८७० जनाले लाभ लिएका थिए । शिविरमा नाक,कान घाँटी, छाला, जनरल मेडिसिन, जनरल सर्जरी, हाडजोर्नी तथा नशासम्बन्धी रोगको निःशुल्क परिक्षण गरिएको थियो ।

शिविरमा मेडिकल कलेजका प्रतिष्ठित चिकित्सक, नर्स र इजरायलबाट आएका चिकित्सकले समेत सेवा तथा परामर्श दिएका थिए । शिविरमा सहभागीलाई अस्पतालले प्रमाणपत्र समेत दिएको छ । उक्त प्रमाणपत्र लिएर जानकी मेडिकल कलेज जाने बिरामीलाई ५० प्रतिशत छुट दिने अस्पतालकी निर्देशक शर्माले जानकारी दिईन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *