टर्यो गठबन्धनको संकट ?
काठमाडौँ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मार्फत सैन्य सम्झौता गर्ने अमेरिकी प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको सार्वजनिक भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ।
ओलीलाई भन्दा अघिल्लो दिन मात्रै नेता श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई उनकै निवास कोटेश्वर निवास पुगेर भेटे । उनले एमालेका अन्य नेताहरूसँग पनि भेटघाट निकै बढाए । प्रतिनिधिसभा बैठकमा बोल्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपी सैन्य रणनीति नभई भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तमा अमेरिकाले मानवीय सहयोग गर्ने कार्यक्रम भनी एसपीपीको बचाउ गरेपछि वर्तमान पाँच दलीय सत्ता गठबन्धनको भविष्य नै धरमराएको थियो ।
कांग्रेसले एसपीपी अगाडि आशंका बढेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास शुरु भएको थियो । जसमा सक्रिय भएर लागेका थिए, नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ, उपमहासचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल, बेदुराम भुसाल लगायत ।
स्वमंमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले छलफल गरेका थिए । केपी ओलीले आफैँ सहभागी नभएर विश्वास पात्रलाई माओवादी नेताहरूसँग छलफलमा खटाएका थिए । जेठ २८ गते एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच खुमलटारमा भएको भेटको मुख्य एजेण्डा नै वाम गठबन्धन थियो । त्यही बिचमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ऊर्जामन्त्री समेत रहेकी माओवादी केन्द्रकी नेता पम्फा भुसालसँग भेटको एजेण्डा पनि वाम गठबन्धन नै भएको नेताहरू बताउँछन् ।
पाँच दलीय सत्ता गठबन्धन भत्किने र वाम दलहरू एक हुन सक्ने संकेत संसद्मै देखा परेको थियो । संसद्मा रहेका पाँचदलीय सत्ता गठबन्धनमा सहभागी र विपक्षमा रहेका वाम दलहरू एसपीपीमा सरकारले सम्झौता गर्न नहुने भन्दै भनी एक स्वरमा आवाज उठाइरहेका छन् । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमार्चा लगायत दलहरू सुरुदेखि एसपीपीमा एकमत देखिए ।
२६ जेठ २०७९ मा प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्न माग गरेका थिए । उनले एसपीपीमा हस्ताक्षर गर्ने तयारी भएको भन्दै यसको विरोध गरेका थिए । गुरुङबाट यस्तो अभिव्यक्ति आएपछि सत्ता गठबन्धनभित्र र बाहिरका दलहरू झस्किए । गुरुङको सूचनालाई लिएर विपक्षी एमालेले आधिकारिक रूपमै सरकारको धारणा माग गर्दै सरकारमाथि प्रश्न उठायो । सबै वाम दलहरू एकतिर र कांग्रेस एकतिर भए एसपीपीमा ।
अमेरिका भ्रमण र एसपीपीको विषयबारे संसद्मा सूचना चुहाएको भनी माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङको जिम्मेवारी खोस्नुपर्ने आवाज भित्रभित्रै कांग्रेस नेताहरू उठाइरहेका थिए भने बाम दलहरू एकताको प्रयासमा लागे । संसद्मा रहेका ठुला वाम दलहरुले एसपीपीमा एक भएर आवाज उठाएपछि संसद् भित्र र बाहिर रहेका साना वाम दलहरू पनि हौसिए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एसपीपी सम्झौतामा हस्ताक्षर गर्न नहुने भनी निरन्तर आवाज उठायो ।
संसद् बाहिर रहेका विभिन्न ९ कम्युनिस्ट दलले पनि एसपीपीमा सम्झौता गर्न नहुने अडान राखे । एसपीपी नेपालको लागि राष्ट्रघाती सम्झौताको संज्ञा दिँदै उनीहरूले संयुक्त वक्तव्य नै जारी गरे । संसदबाहिरबाट एसपीपीमा संसद्मा रहेका वाम दलहरुलाइ साथ दिने साना वाम दलहरू हुन- नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी, नेकपा (मसाल) र जनसमाजवादी मञ्च नेपाल । यी दलहरूले संयुक्त विज्ञप्ति निकालेर एसपीपी अमेरिकाको हिन्द-प्रशान्त सैन्य रणनीतिको एक अङ्ग भएको उल्लेख गर्दै त्यसमा हस्ताक्षर नगर्न चेतावनी दिएका थिए ।
मुलुकमा रहेका वाम दलहरू एक हुने संकेत देखा परेपछि कांग्रेस झस्कियो । पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा पनि झस्किए । कांग्रेस नेताहरू झस्किएको संसद्मा सम्बोधन गर्दै गर्दा कांग्रेस महामन्त्री गगन थापाले अभिव्यक्त गरेका धारणाले पनि देखाउँदथ्यो ।
चौतर्फी सरकार र कांग्रेसमाथि प्रश्न र वाम दलहरू एकताको प्रयासमै लागेपछि महामन्त्री गगन थापाले पार्टीमा समेत छलफल नगरी संसद्मा बोल्दै प्रधानमन्त्री देउवाकै जवाफ मात्रै मागेनन्, शक्ति राष्ट्रको सामरिक स्वार्थ स्वीकार गर्न नसकिने र समेत आफ्नो धारणा नै कांग्रेसको आधिकारिक धारणा भएको बताए । कांग्रेस महामन्त्रीले नै पार्टीको धारणा भनी पार्टीमा छलफल नगरी बोलेको भनी पार्टीभित्र गाइँगुइँ आलोचना भएपनि उनको अभिव्यक्तिले पाँच दलीय गठबन्धनलाई एक रहिरहन र बाम एकताको प्रयास पर धकेल्न मद्दत गर्नुका साथसाथै एसपीपी अगाडि नबढाउने भनी सरकारका तर्फबाट भन्न बाध्य हुने वातावरण बनेको नेताहरू बताउँछन् ।
तर, अझै स्वयं प्रधानमन्त्री देउवाले भने अझै एसपीपीबारे आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन् । एसपीपीबारे सार्वजनिक रूपमा नबोलेका प्रधानमन्त्री देउवालाई आइतबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमण र एसपीपीबारे छलफल गर्न समितिको बैठकमा बोलाएको छ ।
नबोले पनि देउवालाई गठबन्धनबाटै एसपीपीमा पछाडि हट्न दबाब पर्यो । विभाजित वाम शक्तिहरूमध्ये केहीलाई साथमा लिएर आसन्न प्रदेश र संघीय चुनावबाट सबैभन्दा ठूलो र सुविधाजनक बहुमत ल्याउने सपना देखिरहेका देउवा सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एसपीपी अगाडि बढे गठबन्धन टुटाउने चेतावनी दिएपछि पछाडि हट्न बाध्य भए । उनले एसपीपी अगाडि नबढाउने बचन दिएपछि तत्काललाई पाँच दलीय गठबन्धनको संकट टरेको स्वयं नेताहरू बताउँछन् । पाँच दलीय गठबन्धन टुट्ने र वाम दलहरू एक हुन सक्ने संकेत देखा परेपछि कांग्रेस नेताहरू एसपीपीलाई छाड्न मात्रै तयार भएनन् कुनै हालतमा स्वीकारिँदैन् भनेर कम्युनिस्ट नेताहरूले बोलेकै भाषा प्रयोग गर्दै गठबन्धन जोगाउनमा सक्रिय भए ।
तर, एसपीपीमा कांग्रेसमाथि आशंका गर्दै शुरु भएको वाम दलहरूको गठबन्धनको प्रयास भने मरिसकेको छैन । जसको संकेत शनिबार मात्रै माओवादी केन्द्रका नेता वर्षमान पुनले गरेका छन् । आफू प्रधानमन्त्री हुँदा एसपीपीमा नेपाली सेनामार्फत पत्र गएको तथ्य नै बाहिरिएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई पत्र पठाउँदा जानकारी नदिएको भनी नेपाल सेनाका तत्कालीन प्रधान सेनापतिमाथि नै प्रश्न उठाएका थिए । सेनाले एक्लै पत्र पठाएको होइन भनी हालका प्रधानसेनापतिले खण्डन गर्दा गर्दै माओवादी नेता पुनले ओलीकै शैलीमा अमेरिकाले नेपाली सेनामार्फत एसपीपी अघि बढाउन खोजेको टिप्पणी गरे ।
त्यो पनि मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा गएर । एमालेको कार्यक्रममा गएर ओलीकै आशयमा नेता पुनले सार्वजनिक अभिव्यक्ति दिनुले वाम दलहरूको गठबन्धनको प्रयास मरिसकेको छैन भन्ने संकेत गर्दछ । तथापि, पाँच दलीय गठबन्धन टुट्ने आशंका वा टुटाउने प्रयासका लागि एसपीपीको बाहना भने टरेको छ ।