वीरेन्द्रबहादुर बस्नेतले यसरी सम्झिए २५ वर्षअघि बुद्ध एयर सुरु गर्दाको क्षण
काठमाडौँ । बुद्ध एयर प्रालिका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आफ्नो जन्मदिनको अवसरमा बुद्ध एयर कम्पनी सुरु गर्दाको क्षणलाई स्मरण गरेका छन् । ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गरेका प्रबन्ध निर्देशक बस्नेतले कम्पनीका कर्मचारीहरुले आयोजना गरेको एक जन्मदिन मनाउने कार्यक्रममा कम्पनी स्थापना गर्दाको क्षणलाई स्मरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘२६ वर्षअघि मदनबहादुर श्रेष्ठ र म बसेर बुद्ध एयरको खाका कोरेका थियौँ । हिजै जस्तो लाग्छ तर बुद्ध एयर सञ्चालनमा आएको २५ वर्ष पूरा हुन लागिसकेको छ ।’
सञ्चालनको २५ वर्षको दौरानमा बुद्ध एयरले नेपालको अग्रणी वायु सेवा कम्पनीको पहिचान बनाउन सफल भएको भन्दै उनले खुसी व्यक्त गरे ।
‘अहिले बुद्ध एयरले १६ ओटा गन्तव्यमा उडान गरिरहेको छ,’ उनले भने, ‘त्यस्तै अर्को थप ५ ओटा गन्तव्यमा उडानका लागि स्वीकृति लिन लागेका छौँ । ५ ओटा नयाँ जहाज ल्याउन ऋण स्वीकृत गराइसकेका छौँ । ३ ओटा जहाज अक्टोरसम्म र अर्को दुई जहाज अर्को वर्षको मार्चदेखि फेब्रुअरीसम्ममा आइसक्छ ।’
उनले कम्पनीमा हाल झण्डै १ हजार ५ सय कर्मचारीले रोजगारी पाएको बताए ।
‘संसारमा १०० वर्षपछि आएको सबैभन्दा ठूलो महामारी कोभिड–१९ का कारण ८ महिनासम्म हामी उडान बन्द गरेर बस्नुपरेको थियो,’ उनले भने, ‘आजको दिनमा संसरकै उत्कृष्ट एटीआर अपरेटरमा हामी स्थापित भइसकेका छौँ । हाम्रो अपरेशन, टेक्निकल विभाग र सबै कर्मचारीले एटीआर बीमालाई हामी सञ्चालन गरिरहेका छौँ । नेपालको आवश्यकता अनुसार हामी एटीआर विमान थप्दै र बढाउँदै लाने छौँ । हाम्रो सफलता नै राष्ट्रको सफलता बनेको छ । अब अर्को २५ वर्ष मनाउँदै गर्दा पनि हामीले यो विमान कम्पनीलाई अझ सशक्त बनाउँदै लैजानु छ ।’