दूध दिउन्जेल स्याहार, नदिए अत्याचार
बैतडी । बैतडीको पाटनमा यही असार दोस्रो हप्ता भिरालो जङ्गलमा रुखको जरामा बाँधेर राखिएको गाईको स्थानीय युवाले उद्धार गरे । जिल्ला समन्वय समितिका सदस्य करन कडायतले भीरमा गाई बाँधेको देखेपछि उद्धारको पहल भएको थियो ।
उद्धारकर्ता लवदेव जोशीले उक्त दृश्यको वर्णन गर्दै भने, ‘बूढो गाई हत्केलाजस्तो भीरमा उभिएको थियो । गाईको आँखामा आँसु र कचेरा भरिएका थिए । खुट्टा कापिरहेका थिए । त्यो गाईको उद्धार गर्दा हाम्रा पनि आँखा रसाए ।’ भीरमा बूढो गाई लगेर राति कसैले बाँधेको हुनसक्ने जिल्ला समन्वय समिति बैतडीका सदस्य कडायतले बताए ।
दुहुनो हुन्जेल स्याहार गर्ने तर बूढो भएपछि यसरी अत्याचार गर्दै भीरमा बाँधेर छाडेको घटना सेलाउन नपाउँदै पाटन नगरपालिका क्षेत्रका सडकमा बुधबार फेरि अर्को घटना भएको छ । गाई र बाच्छीको घाँटीमा कार्टोनमा ब्यानर बनाएर ‘हाम्रो गोबर व्यवस्थापन गर ! पाटन नगरपालिका मुर्दावाद !’ लेखेर छाडिएको छ । यसरी स्वार्थपूर्तिका लागि पशुलाई पशुवत् पनि व्यवहार नगर्ने प्रवृत्ति बैतडीमा बढ्दो छ ।
केही बजारीले नगरपालिकाको विरोध गर्दै कागजमा विरोधका नारा लेखेर गाईको घाँटीमा झुन्ड्याएको पाइएको पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले बताए । नारा लेखेर गाईको घाँटीमा झुन्ड्याउनेको खोजी भइरहेको उनले बताए ।
पशुको पनि अधिकार भएकाले यस्ता दृश्यले मन पोलेको स्थानीय युवा लवदेव जोशी बताउँछन् । ‘गाई हाम्रो राष्ट्रिय जनावर मात्रै होइन, दूध दिने बेलासम्म आमाजस्तै राम्रोसँग हेरचाह गर्छौं तर बूढो भएपछि गाईमाथि यस्तो अत्याचार भइरहेको छ,’ जोशीले भने । बूढो भएका गाई भीरमा मात्र होइन बजारमा पनि छाडिन्छन् । तिनका साथै बाच्छाबाच्छी पनि हुन्छन् ।
यसका अतिरिक्त केही पुरोहितले दानमा पाएका बाच्छी गाउँबाट ल्याएर बजारमा छोड्ने गरेको स्थानीय केशव खत्रीले बताए । ‘कन्यादान, वार्षिक पुण्यतिथि र श्राद्ध गर्दा बाच्छी दान दिने चलन छ,’ खत्रीले भने, ‘पुरोहितले त्यस्ता बाच्छी पनि बजारमा ल्याएर छोड्ने गरेका छन् ।’
यो समस्या अहिलेको मात्र होइन । डेढ वर्षअघि पाटन नगरपालिकाले नै नगरमा छाडा छोडिएका ८० वटा बूढा गाई बैतडीबाट बझाङको सीमा कटाउन लगाएको थियो । नगरपालिकाले प्रतिगाई दुई हजार रुपियाँका दरले पैसा नै दिएर मजदुर खटाएर सीमा कटाउन लगाएको थियो तर मजदुरले ती गाई पुरचौडी नगरपालिकाको जङ्गलमा लगेर छोड्दा ११ गाई मरेको अवस्थामा भेटिएका थिए । -गोरखापत्र दैनिकबाट