राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद
सुर्खेत । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको छ । बिहीबार जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सातरसात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।
राउटे युवतीलाई यौन दुर्व्यवहारका आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई २०७८ जेठ २३ गते बिहान पक्राउ गरेको थियो ।
मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो भने दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो ।
त्यसपछि तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो ।
यस्तै, अदालतले यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको छ । अदालतले युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्तीमगर र भूपेन्द्र बुढामगरलाई सात/सात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको छ । उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ ।
यस्तै, होटल सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए ।
यो घटना हुँदा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बसिरहेका थिए ।