वैवाहिक अंगीकृतमा मौन रहेर नयाँ नागरिकता विधेयक
काठमाडौँ । सरकारले वैवाहिक अंगीकृतमा मौन रहेर गैरआवासीय नागरिकतालाई समेटेर नयाँ विधेयक ल्याएको छ । विधेयक शुक्रबार नै संघीय संसद् सचिवालयमा दर्ता भएको हाे ।
सरकारले प्रतिनिधिसभामा चार वर्षदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याएको हो । प्रस्तावित विधेयकमाले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खोल्नेछ ।
यस्तै नेपाली आमाबाट नेपालमै जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिले पनि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गरिएको छ । नेपालमा फेला परेर तर, बाबु र आमाको ठेगान नभएका नाबालकलाई पनि वंशजको आधारमा नागरिकता लिन सक्नेछन् ।
यस्तै गैरआवासीय नेपाली नागरिकतालाई पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिने बाटो पनि यो विधेयकले खोलेको छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले ७ वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको थियो । त्यसबेला यो व्यवस्था राख्ने पक्षमा उभिएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजित भएर एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेको छ ।
७ वर्षे समयसीमा राख्ने व्यवस्थाको विरोध गरेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । ७ वर्षे समयसीमाबारे सत्तारुढ गठबन्धनमा सहमति जुट्ने अवस्था नभएपछि सरकारले पुरानो विधेयक फिर्ता लिएको छ र संशोधन विधेयक ल्याएको छ । यसमा नागरिकता ऐनको दफा ५ मा भएको अंगीकृत नेपाली नागरिकतासम्बन्धी व्यवस्थामा संशोधन प्रस्ताव गरिएको छैन ।
अर्थात् यो संशोधन संसद्बाट हुबहु पास भएमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले तत्काल अगीकृत नागरिकता पाउनेछन् ।