बुढीगंगामा ८ वडाको नतिजा आयो, एमाले ५ मा विजयी हुँदा कांग्रेसले जित्यो ३ वडाध्यक्ष
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाका १० वडामध्ये आठ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये एमालेले पाँच तथा कांग्रेसले तीन वडामा जित निकालेको हाे ।
एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा तथा कांग्रेसले वडा नम्बर ४, ७ र ८ मा जित निकालेको छ । अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ ।
मेयर-उपमेयरमा एमालेले अग्रता कायम राखेको छ । अहिलेसम्म ७ हजार ४ सय १७ मत गणना गर्दा मेयरमा एमाले ७८० मगले अगाडि छ । मतगणनाको सुरुवातदेखि अग्रता लिएका एमालेका रामबहादुर बानियाँले त्यसलाई कायमै राख्दै ३ हजार ८८१ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् ।
उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का (कुवँर) ले ३ हजार ७५३ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले ३ हजार १५३ मतका साथ उनलाई पछ्याइरहेकी छन् । एमालेकी खड्का ६०० मतले अगाडि छन् ।