सुर्खेतमा करेन्ट लागेर एकको मृत्यु, आफन्तद्वारा प्रदर्शन
सुर्खेत । जिल्लाको गुर्भाकोट नगरपालिकामा रहेको मेहलकुना अस्पतालको नयाँ भवन निर्माणको क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिवार भवन निर्माणको काम गर्दै गर्दा करेन्ट लागेर गूर्भाकोट नगरपालिका–६ का १७ वर्षीय विजय विकको मृत्यु भएको हो ।
विजयको मृत्यु भएसँगै आइतबार आफन्त तथा स्थानीयहरूले मेहलकुना बजारमा प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनले बजारमा तनाव सिर्जना भएको छ । स्थानीयहरूले सडकमा टायर बालेर आवतजावत गर्ने सवारी साधनहरूमा रोक लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक लालबहादुर सुनारले आफन्तहरूले उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका जानकारी दिए ।
उनले भने, ‘मेहलकुना अस्पतालमा नयाँ बन्दै गरेको भवनमा काम गर्दै गर्दा करेन्ट लागेर उहाँको मृत्यु भएको हो, हाल नगर प्रमुख, उपप्रमुख, अस्पताल प्रशासन र आफन्तहरूबिच सहमतिका लागि वार्ता चलिरहेको छ भने बाहिर प्रदर्शनको अवस्था पनि सामान्य रहेको छ । केही समयपछि सहमति हुन्छ ।’