मोरङ, झापा र सुनसरीमा घटना : चार जनाको मृत्यु
विराटनगर । मोरङ, झापा र सुनसरीमा भएका छुट्टाछुट्टै घटना चार जनाको मृत्यु भएको छ ।
सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एकजना बालकसहित दुई जनाको मृत्यु भएको हो । जिल्लाको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोकका पपुलाल उराउका ५ वर्षीय छोरा आकाश उराउ २६ गते बेलुका देखि हराइरहेकोमा खोजतलास गर्ने पानीमा डुबेको अवस्थामा मृत भेटिएको सुनसरी प्रहरीले जनाएको छ ।
इनरुवा नगरपालिका–२ का ६५ वर्षीय गंगाराम मण्डल २७ गते बिहानदेखि हराइरहेकोमा खोजतलास गर्ने क्रममा घर नजिकै रहेको नहरमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुवै घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै मोरङ र झापाका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । गएराती मोरङको विराटनगर महानगरपालिका–१४ मा ना ६ ख १८३४ नम्बरको ट्याङ्करले साइकललाई ठक्कर दिएको हो ।
साइकल चलाएर बाटो काट्दै गरेका विराटनगर–१३ का ५५ वर्षीय विजय बानियालाई ठक्कर दिँदा घाइते भएका बानियाको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गमा को २ च २०६३ नम्बरको पिकअपले मे १ ह ४६४४ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिँदा घाइते भएका अटो चालकको मृत्यु भएको हो । बुद्धशान्ति गाउँपालिका–७ का ४१ वर्षीय भानु खड्काको उपचारको क्रममा झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।