विराटनगरको रेस्टुरेन्टमा आगलागी
विराटनगर । विराटनगर महानगरपालिकामा एक रेस्टुरेन्टमा आगलागी भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर २ स्थित तीनपैनी नजिकैको नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको हो ।
आगलागीबाट रेस्टुरेन्ट सञ्चालन भएको घर जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट नजिकै रहेको मोती दुगडको घरमा पनि क्षति पुगेको छ भने दक्षिण तर्फको एक घरमा पनि आगोले भेटेको प्रहरीले जनाएको छ। ईश्वर बास्कोटले सञ्चालन गरेको रेस्टुरेन्टमा दिउँसो ग्यास सिलिन्डर लिक भएर आगलागी भएको प्रहरीको भनाई छ ।
आगो नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट रेस्टुरेन्टका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
आगलागी भएर पूर्ण नष्ट भएपछि मात्र दमकल पुगेको कारण रेस्टुरेन्ट पूर्णरूपमा जलेको सञ्चालकको भनाई छ ।
ग्यास लिक भएर आगो लागेका कारण त्यसको फैलावट चाँडो भएर छिटो जलेको हुनसक्ने नगर प्रहरी प्रमुख राजन पौडेलले बताए ।
आगलागी हुँदा रेस्टुरेन्टभित्र रहेका छ वटा ग्यासका सिलिन्डर पड्किएका थिए । रेस्टुरेन्टलाई सजाउनको लागि माथि नाङ र बाहिर डोको झुड्याएर राखिएको कारण बाँसका सामाग्रीमा लागेको आगो चाँडो फैलिएको प्रहरीको अनुमान छ ।