सुर्खेत अदालत ठहर : सम्बन्धविच्छेदले बालबालिका अपराधमा फसे
सुर्खेत । जिल्ला अदालत सुर्खेतले सम्बन्ध विच्छेदका कारण बालबालिकाहरू अपराधमा फस्ने गरेको बताएको छ । अदालतले शुक्रवार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै अपराधमा फस्ने बालबालिकाहरू मध्ये धेरै जसो सम्बन्ध विच्छेदका रहेको बताएको हो ।
अदालतका न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यले सम्बन्ध विच्छेदका कारण आमाबुबाबाट छुट्टिने बालबालिकाहरू आपराधिक घटनामा संलग्न भएको देखिएको बताए ।
उनले भने, ‘पछिल्लो समयमा भएका विभिन्न अपराधहरू जस्तै, चोरी, ठगी, लागू औषध जस्ता घटनामा यस्ता बालबालिकाहरू धेरै रहेका छन् । किन भने आमाबुबाको सम्बन्ध विच्छेद भइसकेपछि बालबालिका एक्लो हुने, उनीहरूलाई अभिभावकत्व प्रदान गर्ने व्यक्तिको कमी हुँदा यस्तो क्रियाकलापमा फस्ने गरेका छन् ।’
यस्तै, अदालतले आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका मुद्दा मध्ये ७२ दशमलव २७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । दुई हजार नौ वटा दर्ता नयाँ मुद्दामा अदालतले एक हजार सात सय ४० अर्थात् ७२.२७ प्रतिशत फर्छ्यौट गरेको हो ।
अदालतले लगेको वार्षिक मुद्दा फर्छ्यौटको लक्ष्यभन्दा धेरै एक सय २० मुद्दा फर्छ्यौट गरेको हो । जसमा अदालतले एक हजार ६ सय २० मुद्दाको लक्ष्य लिएको थियो ।
यस आर्थिक वर्षमा हालसम्मकै बढी मुद्दा दर्ता भएको अदालतले जनाएको छ । साथै कर्मचारीको अभाव भए पनि बिहान सात बजेदेखि साँझ सात बजेको समयमा अदालतमै बसेर लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्यौट गर्न सफल भएको न्यायाधीश डाक्टर आचार्यले बताए ।