गुराँस गाउँपालिकामा भएकाे घटनाकाे छानबिन गर्न समिति गठन

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले शुक्रवार भएको घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । शनिवार बसेको सर्वदलीय बैठकले घटनाको छानबिनका लागि समिति गठन गरेको हो ।

बैठकले असार ३१ गते शुक्रवार गाउँपालिकामा करार कर्मचारीको सन्दर्भमा भएको घटनाबारे सत्य तथ्य छानबिन समिति गठन गर्ने सर्वदलीय र सर्वपक्षीय बैठकले निर्णय गरेको छ । जसको संयोजकमा दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपाल रहेका छन् ।

यस्तै, सदस्यहरूमा जिल्ला समन्वय समिति दैलेख निमित्त जिल्ला समन्वय अधिकारी भक्तबहादुर मल्ल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भूपेन्द्र थापा रहेका छन् ।

यस्तै, अनुसन्धान समितिले आजको मितिदेखि १५ दिन भित्र प्रतिवेदन तयार पारेर जिल्ला समन्वयमा पेस गर्नुपर्ने जनाइएको छ ।

पालिकाले करार सेवामा कार्यरत कर्मचारीहरूले गरेको आन्दोलन र उक्त आन्दोलनबाट थप क्षति हुन नदिन सुरक्षाकर्मीहरूले उक्त परिस्थितिलाई नियन्त्रण गर्ने क्रममा घाइते भएका कर्मचारी, सुरक्षाकर्मी, सर्वसाधारणहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै, स्थानीय तहहरूमा करार सेवामा कार्यरत कर्मचारीहरूलाई हटाइएको विषयले स्थानीय शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह, विकास निर्माण लगायतका विषयहरूमा गम्भीर प्रभाव पर्ने भएको भन्दै जिल्लास्थित राजनीतिक दलले आफ्नो भातृ संघ संगठनलाई संयमित रहन प्रतिबद्ध गराउनेसमेत अपिल गर्नुपर्ने निर्णय गरेको छ ।

करार सेवाबाट हटाउँदा सार्वजनिक सेवा प्रवाह प्रभावित तथा हुन सक्ने विवाद, समस्या, द्वन्द्वलाई मध्यनजर गर्दै करार सेवामा कार्यरत कर्मचारीहरूलाई अर्को व्यवस्था नहुँदासम्मको निरन्तरता दिन जिल्लास्थित सबै स्थानीय तहहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

गुराँसले करार कर्मचारीलाई सेवाबाट हटाउने निर्णयबाट भएको आन्दोलनलाई संयमित, मर्यादित तथा काबुभन्दा बाहिर जान नदिई थप भौतिक तथा मानवीय क्षति हुन नदिनका लागि जिल्ला प्रशासन कार्यालय, दैलेख तथा सुरक्षा निकायहरूले गरेको समन्वयात्मक भूमिकाको उच्च मूल्याङ्कनसहित धन्यवाद ज्ञापन गर्दै भावी दिनहरूमा यस्ता घटनाहरू हुन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

हाल स्थानीय तहमा करार सेवामा कार्यरत कर्मचारी सम्बन्धी समस्या समाधान गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौँले गरेको परिपत्र, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको निर्देशन, सम्बन्धित स्थानीय तहको दरबन्दी संरचना अनुसार करार सेवाका कर्मचारीको उचित व्यवस्थापन गर्नका लागि सम्बन्धित स्थानीय तहका प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित सरोकारवाला निकाय सहितको बैठकको आयोजना गर्नका लागि जिल्ला समन्वय समिति प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *