निर्माण सुरु भएको ३० वर्षपछि कालोपत्रेका लागि शिलान्यास

सुर्खेत । करिब ३० वर्ष अघि अर्थात् २०५१ सालमा सुर्खेत–बाबियाचौर–वेनिघाट सडक निर्माण सुरु भएको थियो ।

पूर्वको झापालाई पश्चिमको डडेलधुरासँग जोड्ने सडकका रूपमा लिइएको यो सडक निर्माण शुरू भएको ३० वर्षपछि कालोपत्रेका लागि शिलान्यास गरिएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीबार कालोपत्रेका लागि शिलान्यास गरेका हुन् ।

सुर्खेत जिल्लाको पूर्वी सिमाना सल्यानको काल्चेदेखि सुदूरपश्चिमको वेनिघाटसम्म २ सय ३२ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौंदेखि आवाज उठिरहेको छ । संघीय सरकारले मदन भण्डारी राजमार्ग नामकरण गरी स्तरोन्नतिको काम जारी राखे पनि निर्माण कार्य ढिलाइ भएको भन्दै कर्णाली प्रदेश सरकारले बड्डीचौर–विद्यापुर खण्डको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्मको करिब १३ किलोमिटर सडक कालोपत्रेको काम शुभारम्भ गरेको छ ।

सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले बिहीबार पहिलो खण्ड बड्डीचौरबाट डोजर चलाएर कालोपत्रेको काम शुभारम्भ गरेका हुन् । यही बिन्दुलाई शून्य मानेर मदन भण्डारी राजमार्ग नामकरण गरी दुई वर्षअघि नै संघीय सरकारले सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो । तर, संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि प्रदेश सरकारले सडक कालोपत्रे गर्न अपनत्व लिएको हो ।

पहिलो चरणमा बड्डीचौर–खम्बगाडे सडक कालोपत्रे गरिनेछ । दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी रु. ४२ करोड ४७ लाख ६१ हजार लागतमा निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेसँग सम्झौता भएको छ । निर्माण कम्पनी र पूर्वाधार विकास निर्देशनालय सुर्खेतबिच गत असार १४ गते निर्माण सम्झौता भएको थियो । आगामी २०८१ असार २४ गतेसम्म सडक कालोपत्रे गरिसक्नु पर्नेछ । निर्माण कम्पनीका अनुसार पहिलो चरणमा नाला निर्माण, सडक विस्तार लगायतका कामहरू गरिनेछ ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बुढाक्षेत्रीले वर्षौंदेखि कच्ची र सडकमा खाल्डा बन्दा आवतजावतमा समस्या भोग्दै आएका नागरिकहरूलाई राहत हुने विश्वास व्यक्त गर्दै स्तरोन्नतिको काममा ढिलाइ नगर्न निर्देशन दिए ।

‘स्थायी नेकपाको सरकारले काम गर्न सकेन, डीपीआरको बेला तामझामका साथ शिलान्यास गर्‍यो । निर्माणका लागि चासो देखाएन,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘गठबन्धनको सरकारले पश्चिमका नागरिकहरूलाई सहज आवतजावतका लागि सडक कालोपत्रे गर्न प्रदेशबाट बजेट विनियोजन गरेर कामको शुभारम्भ गरेका छौँ ।’

मन्त्री बुढा क्षेत्रीका अनुसार सडक निर्माणका क्रममा निर्माण व्यवसायीलाई साथ दिएर समयमै काम सम्पन्न गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *