कञ्चनपुर भन्सारले बिस्कुट भनेर पठाएको सामान खोलेर हेर्दा….

धनगढी । कञ्चनपुर भन्सार कार्यालयले बिस्कुट भनेर पठाएको सामान बरामद गरेर हेर्दा कपडा भेटिएको छ ।

प्रज्ञापन पत्रमा बिस्कुट उल्लेख गरेर कञ्चनपुर भन्सार कार्यालयले पठाएको समान बिहीबार सशस्त्र प्रहरीको केन्द्रीय ब्युरो टोलीले बरामद गरेको हो । बरामद गरिएको सामान बिस्कुट नभई कपडा भएको सशस्त्र प्रहरीले जनाएको छ ।

टोलीले भिमदत्त नगरपालिका वडा नम्बर १० बनगाउँ पुलमा दिउँसो ३ बजे सो कपडा बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार बिस्कुट भनेर भन्सार कार्यालयले पठाएको सो पोकामा ५५ पिस साडी र ५८ पिस हाप पाइन्ट फेला परेको छ ।

सशस्त्र प्रहरीले बरामद गर्ने बेला बिस्कुट नै उल्लेख भएर आए पनि बरामदपश्चात् कार्यालयले सच्याएर प्रज्ञापन पत्र पठाएको समेत पाइएको छ । केही दिनअघि पनि कञ्चनपुर भन्सार कार्यालयबाटै तरकारी भनेर पठाएको पेटीमा अनार स्याउलगायत फलफूल भेटिएको थियो ।

अत्तरियामा चेकजाँचको क्रममा सशस्त्र प्रहरीले सो समान बरामद गरेको थियो । यस बारेमा कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी प्रमानन्द जोशीले भन्सारबाट बिस्कुट उल्लेख गरी नपठाएको दाबी गरे ।

उनले थोरै कपडा रहेको र सो व्यक्तिले बाटोमा गएर थप कपडा हालेको सूचना पाएपछि सशस्त्र प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको बताए । उनले बिस्कुटका नाममा कपडा नपठाइएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *