कार्यकर्तालाई प्रशिक्षण दिन एमालेका महासचिव सुर्खेतमा

सुर्खेत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल सुर्खेत आएका छन् । शनिबार बृहत् कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन पोखरेल सुर्खेत आएका हुन् ।

महासचिव पोखरेलले सुर्खेत पुगेसँगै नेकपा (एमाले) कर्णाली प्रदेश पार्टी कार्यालयको उद्घाटन समेत गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-८ सुर्खेतमा रहेको पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

यस्तै, महासचिव पोखरे शनिबार बिहान ११ बजेदेखि एमाले सुर्खेत जिल्ला र प्रदेश कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता प्रशिक्षणका कार्यक्रममा सहभागी भएका छन् । एमालेले उक्त प्रशिक्षण कार्यक्रम सुर्खेत सभा हलमा राखेको छ ।

कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण भने महासचिव पोखरेल र स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल लगायतका नेताहरूले दिनेछन् । एक दिवसीय कार्यक्रममा प्रदेशस्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको एमालेले जनाएको छ ।

विवेकशील कर्णालीका संयोजकसहित आठ जिल्लाका नेता-कार्यकर्ता एमाले प्रवेश गर्दै
यस्तै,  विवेकशील साझा पार्टीका कर्णाली प्रदेशका संस्थापक संयोजक गेहेन्द्र दाहालसहित कर्णालीका आठ जिल्लाका नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने भएका छन् । प्रशिक्षण कार्यक्रममा उनीहरूलाई एमाले महासचिव शंकर पोखरेल, एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल लगायतले पार्टीमा स्वागत गर्न लागेको एमालेले जनाएको छ ।

विवेकशील साझाले राजतन्त्रको वकालत गरेको, देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि प्राप्त उपलब्धिको रक्षा गर्न विवेकशीलले नसक्ने देखिएको र पार्टी अध्यक्षले गरेको राजसंस्था ब्युँताउने निर्णयले हामी बदनाम हुने भएको संयोजक दाहालको भनाई रहेको छ ।

दाहालका अनुसार कर्णाली प्रदेशका आठ जिल्लाका प्रदेश कमिटी सदस्यहरूसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने तयारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *