शैल्यशिखर नगरपालिकाले २ वर्षमा किन्यो १४ लाख बढीका माेबाइल, रिचार्जमा एकैवर्ष २ लाख
दार्चुला । शैल्यशिखर नगरपालिकाले २ वर्षमा १४ लाख भन्दा बढी मूल्यका माेबाइल खरिद गरेकाे छ ।
महालेखा परीक्षककाे कार्यालयले सार्वजनिक गरेकाे प्रतिवेदनअनुसार शैल्यशिखर नगरपालिकाले २०७६ र ७७ सालमा १४ लाख भन्दा बढी मूल्यका विभिन्न माेबाइल सेट खरिद गरेकाे हाे ।
नगरपालिकाले वर्ष २०७६ मा विभिन्न मितिमा ५ वटा माेबाइल, तीनवटा पावर बैंक तथा ६ वटा ट्याब खरिद गरेकाे हाे । जसकाे मूल्य ६ लाख १८ हजार ७ सय १३ रुपैयाँ रहेकाे महालेखाकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ । त्यस्तै, महालेखाले ट्याब खरिद गर्दा जिन्सी दाखिला समेत नगरिएकाे प्रतिवेदनमा उल्लेख गरेकाे छ ।
त्यस्तै, महालेखाले निजी कार्यमा प्रयाेग हुने सामग्री खरिद गर्न मिल्ने आधार पेश हुनुपर्ने टिप्पणी समेत गरेकाे छ ।
यता वर्ष २०७७ मा नगरपालिकाले पुनः ८ वटा माेबाइल खरिद गरेकाे छ । ८ वटा माेबाइलकाे मूल्य ८ लाख २६ हजार ९४६ रुपैयाँ रहेकाे प्रतिवेदनमा उल्लेख छ । साे वर्ष पनि २ वटा माेबाइल खरिद गर्दा माग फारम दाखिला नगरिएकाे र निजी कार्यमा प्रयाेग हुने सामग्री खरिद गर्न मिल्ने आधार पेश हुनुपर्ने टिप्पणी मलेपले गरेकाे छ ।
यसरी नगरपालिकाले २ वर्षसम्म झण्डै १४ लाख ४५ हजार ६५९ रुपैयाँकाे माेबाइल तथा ट्याब खरिद गरेकाे महालेखाकाे प्रतिवेदनमा उल्लेख छ ।
रिचार्जमा एकै वर्ष २ लाख
नगरपालिकाले एक वर्षमै झण्डै २ लाखकाे रिचार्ज समेत खरिद तथा खर्च गरेकाे प्रतिवेदनमा उल्लेख छ । २०७७ सालमा नगरपालिकाले १ लाख ९८ हजार रुपैयाँ बराबरकाे रिचार्ज खर्च गरेकाे हाे । त्यस्तै, उक्त खर्चमा पनि महालेखाले निजी कार्यमा प्रयाेग हुने सामाग्री खरिदकाे आधार पेश हुनुपर्ने टिप्पणी गरेकाे छ ।