प्रदेशकाे नामकरणबारे प्रदेशसभामा एमाले–माओवादी जुहारी

विराटनगर । प्रदेश सभामा नामको विषयमा सांसदहरूको बिचमा जुहारी चलेको छ । नेकपा माओवादी केन्द्रका सांसद र नेकपा एमालेका सांसदका बिचमा फरक फरक मत सहितको नामको बारेमा धारणा राखेर धारणा राखेका छन् ।

नेकपा माओवादी केन्द्रका सांसदले प्रदेशको नाम किराँत हुनुपर्ने माग राख्दै प्रदेश सभामा आफ्नो धारणा राखेका छन् । विशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका सांसद मोहनकुमार खड्काले नेकपा माओवादी पहिचानवादी पार्टी भएकोले पहिचानको आधारमा प्रदेश १ को नाम किराँत प्रदेश राख्न आग्रह गरे । उनले पहिचानको आधारमा प्रदेशको नामकरण गर्नु पर्ने धारणा राखे ।

कोचिला, लिम्बुवान र किराँत समिति बनाएर पार्टीले गतिविधि गरेको स्वीकार गर्दै उनले किराँत कुनै जात नभएकोले किराँतलाई जात जोड्ने गलत भएको बताए । ‘नेकपा माओवादीले सिङ्गल नाम ल्याउँदा किराँत र दोस्रो विकल्पमा किराँत–लिम्बुवान माओवादीको प्रस्ताव रहेको छ’, उनले भने, ‘यदि सबैलाई समेट्ने हो भने प्रदेश १ को नाम कोसी–किराँत वा सगरमाथा–किराँत बनाएर जानु पर्छ ।’

माओवादी एक्लैले दुई तिहाइ पुर्‍याउन नसक्ने भएकोले सहमतिको आधारमा प्रदेशको नाम ल्याउनु पर्ने उनको भनाई छ । प्रदेश सभाको शून्य समयमा बोल्नै नेकपा माओवादीका सांसदहरू सिता थेबे र सौभाग्यवती देवी राई किराँतले संघीयताको मर्म अनुसार इतिहास, भूगोल र सभ्यताको आधारमा प्रदेश १ लाई किराँत प्रदेश नामकरण गरेर जानु पर्ने माग राखे ।

नेकपा एमालेको तर्फबाट विशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्य हिमादेबी बस्नेतले मुख्यमन्त्रीबाट किराँत प्रदेश बनाउने भन्ने विषयलाई एमालेले गम्भीर रूपमा लिएको बताइन् । सार्वजनिक रूपमा मुख्यमन्त्री पदमा बसेको व्यक्तिले कुनै एक समूहलाई लिएर हिँड्न नहुने तर्क गरिन् । नामकरण जे भएपनि टेबुल भएर सदनबाट नै टुंगो लगाउनु पर्ने नामको विषयलाई बाहिर बाहिर यो या त्यो नाम हुनु पर्छ भन्नु गलत भएकोले मुख्यमन्त्रीले प्रदेश सभामा आएर स्पष्ट धारणा राख्नु पर्ने माग राखिन् ।

प्रदेश सभाको शून्य समयमा बोल्दै एमालेकी सांसद बसन्तीदेवी यादवले प्रदेश १ को नाम के राख्ने भनेर जनताले प्रश्न गर्दै आएको बताइन् । ‘नामको बारेमा पटक पटक छलफल हुँदै आएको भएपनि प्रदेश १ को नामकरण हुन नसक्नुको कारण के हो’, उनले प्रश्न गर्दै सोधिन्, ‘जातीयताको आधारमा नाम राख्ने भन्दा प्रदेश १ मा एक जातीको मात्र बसोबास छ त रु’ जातीयतामा विभेद नहुने गरी प्रदेशको नामकरण हुनु पर्ने उनले माग राखिन् ।

जनता समाजवादी पार्टीकी सांसद राधा थापाले प्रदेश सभाका माननीयले आदिवासी जनजातिको मात्र नाम उठाएको र खस आर्यको नामको बारेमा कुनै नामै नउठाएको टिप्पणी गरिन् । ‘खस आर्यको किन नाम उठाउनु हुन्न’, उनले भनिन्, ‘खस आर्यहरू पनि हिजो अंग्रेजहरूसँग लडेर युद्ध जितेर भूमिपुत्रको रूपमा बसोबास गर्दै आउनुभएको छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *