बीवाईडीले बढायो गाडीको मूल्य

काठमाडौँ । विद्युतीय सवारीसाधन उत्पादन कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ ।

कम्पनीका अनुसार विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएको थियो । तर, बजारमा देखिएको समस्याको कारण मूल्यस्थिर राख्न प्रयास गरेको थियो ।

विशेषतः नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुनेगर्छ । सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर (डलरको मूल्य महंगो) भएकाले गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाइ छ ।

त्यसैले, अहिलेको अफ्ठ्यारो परिस्थितिलाई ध्यानमा राख्दै डलरको कारण उत्पन्न मूल्य वृद्धि धेरै हुने भए पनि हामीले बीवाइडी इ–सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम राखेको कम्पनीले जनाएको छ ।

साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएकाे छ ।

मूल्य वृद्धिबारे साइमेक्स इंकका सीइओ साहिल श्रेष्ठले भने, ‘हामीले सन्२०२१ मा नेपालमा बीवाइडी इ–सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौं, निरन्तर त्यसमै विक्री गरिरहेका थियौँ । तर, पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा व्यापक वृद्धि भएको कारण हामीले मूल्य बढाउनु परेको हो ।’

सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउन सक्नेछन् । इ–सिक्स र एमथ्रीको बारेमा बीवाइडी ई–सिक्सको नयाँ जेनेरेशन मोडल ग्राहकले निकै मन पराएका उनले बताए ।

बीवाइडीको लेटेष्ट टेक्नोलोजीमा आधारित ब्लेड ब्याट्री यसको सबैभन्दा बलियो पक्ष हो । जुन हामीले बिक्री गर्दै आएको एम थ्री मोडलमा पनि छ ।

ब्लेड ब्याट्री सुरक्षाको हिसावले अब्बल र लङ रेन्जको लागि उपयुक्त रहेको छ । ई सिक्समा कम्पनीले ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फुलचार्जमा यसको रेन्ज ५२२ किलोमिटर रहेको छ । साथै, ग्राहकले ७ किलोवाट क्षमताको एसी चार्जर पनि गाडीसँगै पाउने छन् ।

पूर्णतः इलेक्ट्रिक प्लेटफर्ममा तयार भएको इ सिक्स आधुनिक सुरक्षा फिचर लोडेड कार हो भने यसमा ग्राहकले प्रसस्त स्पेश पाउन सक्नेछन् ।

एमथ्री ७ सिट क्षमताको गाडी हो । ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध एमथ्री निकै आरमदायी भ्यान हो । एक पटकको फुल चार्जमा २७५ किलोमिटर रेन्ज प्रदान गर्ने एमथ्रीमा १०० किलोवाट आवरको मोटर दिइएको छ ।

यसमा पनि ७ किलोवाट क्षमताको एसी चार्जर ग्राहकले पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *