प्रदेशकाे नाम तत्काल टुंग्याउन प्रदेशसभामा सांसदकाे जाेडदार माग
विराटनगर । प्रदेशसभामा प्रदेशको नामको विषयमा सांसदहरूले जोडदार आवाज उठाएका छन् ।
प्रदेशसभाको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने बताए ।
नेकपा माओवादीकी सांसद उमिता विश्वकर्माले प्रदेश १ को नामकरणको बारेमा आफ्नो धारणा राखिन् । उनले ६ वटा प्रदेशले नामकरण गरिसकेको अवस्थामा प्रदेश १ को संसद्ले नाम दिन नसकेको बताउँदै २ तिहाइ सांसदको संख्याले प्रदेशको नामकरण गर्नु जरुरी रहेको बताइन् ।
उनले हिजोको अभ्यास र इतिहाससँग जोडिएर लिम्बुवान र किराँत प्रदेशको पहिचानका आधारमा प्रदेशको नामकरण गर्नु पर्ने बताइन् । सांसद पूर्णप्रसाद राजवंशीले प्रदेश १ को नाम कोचिला हुनु पर्ने बताए । झापा मोरङ सुनसरीको पहिचान भनेको कोच क्षेत्र भएकोले यो क्षेत्रलाई कोचिला राज्य हुनुपर्ने माग राखे ।
कोचको इतिहास, धेरै जना सहिद भएको आधारमा पनि प्रदेश १ को नाम कोच हुनुपर्ने बताए । ‘कोच प्रदेशको नाम सहित ३ लाख जनताको विद्रोहको शंखघोष गर्न चाहेका छन्, उनले भने, आदिम कालदेखि बसोबास गरेका आदिवासी जनजाति समुदायको मागलाई दलका नेताहरूले किन बोल्न चाहेका छैनन् ? प्रदेश १ को नाम कोचिला प्रदेश बनाइनु पर्छ ।’
जनता समाजवादी पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य रामचन्द्र लिम्बुले प्रदेश १ को नाम लिम्बुवान किराँत हुनुपर्ने बताए । गठबन्धनको सरकार एक्लैको दुई तिहाइ नपुग्ने र एमालेको उपस्थिति बेगर प्रदेशले नाम पाउन नसक्ने उनले बताए ।
नामकरणको सवालमा जसपा पहिचानको पक्षधर रहेको स्मरण गराए । ‘अहिले नाम खोज्दा पहिचानविनाको नाम खोजेर हल्ला मात्र गराउने काम भइरहेको छ’, उनले भने, ‘लिम्बुवान प्रदेशको शतप्रतिशत भूमि १ नम्बर प्रदेश भित्र पर्छ, त्यसपछि किराँत पर्छ।’
उनले प्रदेश १ को नाम लिम्बुवान किराँत राख्नु पर्ने बताए । उनले लिम्बुवान किराँतभन्दा अर्को नाम उपयुक्त नहुने बताए । ‘पहिचान विरोधी कुरा मात्र हुन्छ भने आगामी निर्वाचनमा बदला लिइनेछ’, उनले भने, ‘प्रदेश १ को नाम लिम्बुवान किराँत नभए ठूलो समस्या सिर्जना हुन्छ ।’
नेपाली कांग्रेस संसदीय दलको तर्फबाट विशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य लीला सुब्बाले सबैलाई मान्य हुने नामलाई ल्याएर प्रदेशको नामकरण गरेर जानु पर्ने बताइन् ।