सप्तकोशी बाढी अपडेट

सशस्त्र प्रहरीको गोताखोरसहितको टोली कटान क्षेत्र पुग्यो (तस्बिरहरू)

प्रदेशका आन्तरिक मामिला मन्त्री र सुरक्षा प्रमुख निरीक्षणमा

विराटनगर । सप्तकोशी नदीले धार परिवर्तन गरेको स्थलमा सशस्त्र प्रहरीका तालिमप्राप्त गोताखोरको टोली पुगेको छ । सप्तकोशी कटान प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको तालिमप्राप्त गोताखोरको टोली पुगेको सशस्त्र प्रहरीका डिआइजी कमल गिरीले जानकारी दिए ।

समस्यामा परेका नागरिककालागि उद्धारमा कुनै समस्या हुन नदिनेगरी टोली परिचालित भएको उनले बताए । नदी कटान क्षेत्रमा प्रदेश १ का सुरक्षा अधिकारी सहित सुनसरीका प्रमुख जिल्ला अधिकारी समेतको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।

आज बिहान ३ बजे सप्तकोशी नदीले धार परिवर्तन गरेसँगै उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट कोशी पश्चिमतर्फ पसेको छ । ५० मिटर कटान गरेर पानी पश्चिमतर्फ पसेकोमा अहिले पानीको सतह बढ्दै गएको छ । पानीको मात्रा बढेसँगै उदयपुरको वडा नम्बर २,३ र ९ नम्बर वडाका मानिसहरू टापुमा फसेका छन् ।

यस्तै बराहक्षेत्र नगरपालिकाका २ वटा वडाका नागरिक समेत टापुमा फसेका छन् । प्रदेश १ प्रहरी कार्यालयका डिआइजी सुदिप गिरीले अहिले त्यो क्षेत्रमा टोली परिचालन भइसकेको जानकारी दिए । आन्तरिक मामिला तथा कानुनमन्त्री, सशस्त्र प्रहरीका डिआइजीसहितको टोली अहिले प्रभावित क्षेत्रमा पुगेको उनले जानकारी दिए ।

पानीको मात्रा पश्चिमतर्फ सोझिएको भँगालोतर्फ बढ्दा जोखिममा परेका नागरिकको उद्धारमा समस्या देखिएका छ । पानीको सतह पश्चिमतर्फ बढेकाले त्यही क्षेत्रबाट तत्काल उद्धारमा समस्या भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

सर्वसाधारणको उद्धारमा अब डुङ्गाको प्रयोग गर्नु पर्ने अवस्था आएको छ । सशस्त्र प्रहरीले ३ वटा डुङ्गा प्रभावित स्थलमा पुर्‍याएको जनाएको छ । टापुमा फसेका नागरिकहरूको उद्धारका लागि २ सय बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *