चितुवाको छाला र हड्डीसहित चार जना पक्राउ

धनगढी । चितुवाको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ तेघरी नजिकबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, सोही ठाउँका धिरेन्द्र रावत, डोटीको जोरायल गाउँपालिका–२ का समीर ओली र बैतडीको डिलासैनी गाउँपालिका–२ का राजेन्द्रसिंह भण्डारी रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट चितुवाको टाउकोदेखि पुच्छरसम्मको छाला र दुई केजी जति हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेद जोशीले जानकारी दिए ।

उनका अनुसार चितुवाको छाला ओसारपसार भइरहेको सूचनाका आधारमा आरईटी र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले खोजतलास गर्ने क्रममा उनीहरू राति सवा १२ बजेतिर पक्राउ परेका हुन् ।

उनीहरू सबैजना सु प प्र ०४–००१ च ०००६ नम्बरको बलेरो जिपमा सवार थिए । डोटीको बुडरबाट अत्तरियातर्फ आइरहेको जिप रोक्न खोज्दा तत्काल नरोकेकोले शंका लागि चेकजाँच गर्ने क्रममा चितुवाको छाला र हड्डी बरामद भएको डिएसपी जोशीले बताए । पक्राउ परेका ओली जिपका चालक हु ।

उनीहरू सबैलाई घटनाका बारेमा सोधपुछ भइरहेको बताइएको छ । उनीहरूले कैलालीको फल्टुडेमा चितुवाको छाला र हड्डी सहित पक्राउ परेका रावतद्वय चढेको बताएका छन् । डिएसपी जोशीले पक्राउ परेका सबैलाई जिल्ला वन कार्यालय कैलालीको जिम्मा लगाउने पहल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *