मिटरब्याज पीडित किसानहरूको बिलौना : २ लाख ऋण लिएको २० लाख मागिरहेकाे छ, हामी के गर्नू ? (भिडिओसहित)
‘न्याय नपाएसम्म घर फर्किँदैनौँ’
काठमाडौँ । नवलपरासीका मिटरब्याज पीडित (किसान) हरूको दिनचर्या हिजोआज काठमाडौँको माइतीघर मण्डलाकाे ताताे घामका साथ बित्छ । उनीहरूको बिलौनासँग सरकार पूरै बे-खबर छ । एक हप्तायता आफूहरूको समस्या समाधानका लागि सरकार गुहारिरहेका उनीहरूको समस्यासँग सरकार ‘साक्षात्कार’ गर्न चाहँदैन ।
०००
आजभन्दा ८ वर्ष पहिले वार्तापुर गाँउपालिका वडा ९ का किसान मोहरलाल यादवले छोरीको विवाहका लागि २ लाख ऋण लिएका थिए । त्यसकाे केही महिनामै अनियमित तवरले त्यसलाई मिटरब्याजमा चढाइ साहुले ४ लाखको हिसाब सुनाए । उनकाअनुसार ऋण लिएको ४ वर्षमा ब्याजसहित ९ लाख बुझाइसक्दा पनि उनको ऋण चुक्ता भएको छैन । ऋण लिँदा धितो राखेको जग्गा उनले साहुले छाडिदिएका छैन ।
अहिले त उनलाई साहुले २० लाख मागिरहेका छन् । यसपछि उनी काठमाडौँ धर्नामा बस्नलाई आइपुगे । “अब २० लाख दियो भने फेरि भन्छ २० लाख बाँकी छ, दे भन्छ, घरमा कमाउने कोही छैन । हामी गरिब किसानले यत्रो पैसा कहाँबाट ल्याउने ?” उनी थप प्रश्न गर्छन, ‘२ लाखको ऋणमा ब्याजसहित ९ लाख बुझाइसक्दा पनि ४ वर्षमा कसरी २० लाख भयो ?’
अर्का ७६ वर्षीय किसान प्रेमनारायण कोइरी पनि मोहरलालसँगै धर्नामा बस्छन् । उनको समस्या पनि मोहरलालको भन्दा खास फरक छैन । उनले १२ रोपनी जग्गा राखेर २ लाख ऋण लिएका थिए । उनका ७ वटी छोरीहरूको अझै विवाह भएको छैन । उनी कसरी बिहे गर्ने भनेर चिन्तामा छन् । बिहारी साहु र नवलपरासीका साहुहरू मिलेर आफूलाई भूमिहिन बनाएपछि पत्नीको सहायतामा आफू पनि धर्नामा आएको उनी सुनाउँछन् । “२ लाख ऋणको २०/२१ लाख माग्छन् । कसरी यत्रो पुग्यो भन्दाखेरि बुझिनेगरी सुनाउँदैनन् । हामीमाथि अन्याय मात्रै भइरहेको छ,” उनी भन्छन् ।
धर्नामा बसेकाहरू निन्याउरो र मलिन अनुहार लिएर सरकारको बाटो कुरिरहेका छन् । तर, उनीहरूकहाँ सरकार आइपुग्दैन । उनीहरू प्रायःलाई पढ्न र लेख्न आउँदैन । वयोवृद्ध पीडित किसानहरू सबै प्रश्नकर्तालाई लालपूर्जा देखाउँदै न्यायको आशामा भौँतारिरहेका छन् । उनीहरूको एक स्वर छ— हामीजस्ता दुखीहरूको रेखदेख सरकारले गर्नुपर्याे । यहाँ कोहीले खानै पाएका छैनौँ । कोहीसँग चामल छैन, कोहीसँग तरकारी छैन ।
उनीहरूको बासस्थान पशुपति मन्दिर परिसर बनेको छ । उनीहरू प्रत्येक दिन हिँड्दै–हिँड्दै आउजाउ गर्छन् । उनीहरूको ‘ड्यूटी’ नै बनेको छ माइतीघर मण्डला आउजाउ । मानौँ कि— उनीहरू कुनै सरकारी कार्यालयका जागिरे हन् । उनीहरू बिहान उठ्नासाथ माइतीघर सोझिन्छन्, साँझ पनि फरक कहाँ हुनु (?) उसैगरी हिँड्दै पुनः पशुपति मन्दिर परिसर पुग्छन् र निदाउँछन् ।
सरकारले आफ्नो दुःख नसुनेकोमा उनीहरूको चित्तदुखाइ छ । ‘हाम्रो दुःख सरकारले पनि देखेन,’ किसान मजदूर संघर्ष समितिको नेतृत्वमा माइतीघर मण्डला आइपुगेका उनीहरू भन्छन्, ‘अरु त हामीलाई कसले पो हेर्ला र ?’
नवलपरासीबाट अझै धर्नाकारीहरू आउँदै छन् । न्याय नपाएसम्म आफूहरू कहीँ नजाने, घर पनि नफर्किने उनीहरूकाे भनाइ छ । उनीहरूकाे साझा प्रतिबद्धता छ— जबसम्म सरकारले न्याय दिँदैन, तबसम्म घर फर्किँदैनौँ ।
उनीहरूसँग मकालुखबरले गरेकाे सामूहिक याे सवाल–जवाफकाे सम्पादित अंश हेराैँ;
तपाईंहरूको माग के हो ?
हामीले न्याय पाउनुपर्याे, हाम्रो सबैको साझा माग यही हो । र, दलालहरूलाई कारबाही हुनुपर्याे । हामी यसबाहेक केही मागेका छैनौँ । याे सरकारले पूरा नगरुन्जेल हामी कहीँ जाँदैनाैँ ।
तपाईंहरूसँग आफू ठगिएको के के प्रमाणहरू छन् ?
किसानहरूसँग ऋण लिएका प्रमाणहरू छन् । बेला–बेलामा ऋण तिरेका रसिदचाहिँ छैन, त्याे दिँदैनन् । तर जिल्ला प्रशासन कार्यालयले बैङ्किङ रसिद माग्ने र किसानहरूले बैङ्किङ कारोबार नगरेको हुँदा प्रमाणिकरणमा समस्या परेको छ ।
किसानहरूले बैङ्कसँग कारोबार नर्गनुका कारण के हो ? थाहा तपाईंहरूलाई ?
जग्गा नारायणीको छेउमा छ । गण्डकीको बाँध नजिक छ भनेर किसानलाई ऋण दिँदैन बैङ्कले । तर त्यही जग्गा साहुले लिँदाचाहिँ बैङ्कले ऋण दिन्छ । त्यसकारण किसानहरूले बाध्यतावश साहुसँग ऋण लिनुपर्छ । जग्गा लिन्छन् र त्यही पैसा निकालेर यिनलाई ऋण दिन्छन् । यस्तो प्रकृया चलिरहेको छ । बैङ्क र दलाल मिलेका छन् र राज्यले तिनीहरूलाई संरक्षण गरिरहेको छ ।
अहिलेसम्म कस्ता-कस्ता कानूनी पहल गर्नुभयो ?
सरकारले हामीलाई जिल्ला प्रशासनमा जा भन्छ । जिल्लाले भन्छ– ति चोर त चोरै हुन् । तर हामीसँग कानून छैन भनेर । प्रशासनसँग नभएको कानून किन बनाउनुपर्याे ? यत्रो नवलपरासीका ६/७ सय जना पीडितहरू प्रहरी कार्यालयदेखि लिएर प्रशासन कार्यालय पुगेका छन् भने ती साहुहरू कसरी निर्दोष भए ?
तपाईंहरू किन पटक–पटक आन्दोलित हुनुहुन्छ ? यसअघि पनि तपाईंहरू हुनुहुन्थ्यो, त्यसबेला तपाईंहरूको समस्या समाधान भएन ?
यो आन्दोलन ५ वर्षदेखि चलिरहेको हो । हामी यसअघि पनि धर्नामा बसेका थियौँ तर, समस्या समाधान भएन । त्यसपछि फेरि पनि हामी बस्न बाध्य भयाैँ ।
पहिलो आन्दोलन किन रोक्नुभयो, फेरि किन आन्दोलन गर्दै हुनुहुन्छ ?
पहिले सरकारले छानबिन नगरी मिलाप प्रकृयामा लग्यो । काठमाडौँमा आएका २०/२५ जनाको मात्र समस्या समाधान भयो । तर, प्रहरीले नयाँ केस लिन मानेन, जबकि हाम्रो संघर्ष समितिमा न्याय पाउनपर्याे भनेर झन्डै–झन्डै डेढ सयजनाले आवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालयले ति केसहरू नहेर्ने भनेपछि फेरि आन्दोलनमा आएका हौँ । त्यसबेला किसानहरूको तमसुक च्यात्ने काम भयो । दृष्टिबन्धक राख्ने काम भयो । यो अत्यन्त दुखद् कुरा थियो । त्यसकारण फेरि आन्दोलनमा आउन बाध्य भयौँ ।
कहिलेसम्म धर्ना बस्नुहुन्छ ?
सरकारले जबसम्म किसानको माग पूरा गर्दैैन, तबसम्म बस्छौँ । साहुले घर जग्गा लगिसक्यो, आन्दोलनबाहेक अरु काम के छ र हाम्रो ? भूमिहीन बनाइएका किसान, मजदुरको जमिन, ज्यादा लिइएको पैसा फिर्ता हुनुपर्छ ।