आसन्न सङ्घीय निर्वाचनमा ६ पूर्वप्रधानमन्त्री : कसलाई कति सहज ?

काठमाडौँ । ६ पूर्वप्रधानमन्त्रीहरू; केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईलाई ‘हराउने’ अभियान नै चलाइएकाे छ । ‘नो नट एगेन’ नाम दिएर सामाजिक सञ्जालमार्फत् चलाइएको अभियानलाई एक हप्तामै झन्डै ८ हजारभन्दा बढी व्यक्तिहरूले पछ्याएका छन् । यी ६ पूर्वप्रधानमन्त्रीअङ्कित पोस्टरहरूमा लेखिएका हुन्छन्— ‘जे जत्ति गर्‍यौ, धन्यवाद ! अब अब पालो अरु कसैको । स–सम्मान बिदावारी निर्वाचन २०७९ ।’

यो अभियानको एउटै उद्देश्य हाे, आसन्न सङ्घीय निर्वाचनमा यी ६ पूर्वप्रधानन्त्रीहरूलाई सांसद बन्नबाट राेक्ने अर्थात् उनीहरू पुनः प्रधानमन्त्री नबनून् । यो अभियान कति सफल हाेला, यसबारेकाे जवाफ मंसिर ४ ले देला नै, तर सँगै स्वाभाविक प्रश्नहरू भने उठ्न थालेका छन् । यी पूर्वप्रधानमन्त्रीहरू आफ्नै निर्वाचन क्षेत्रमा चाहिँ कति सुरक्षित छन् ? के अहिले केन्द्रीय राजनीतिक समीकरणअनुसार उनीहरू पुन: संसद्‌तिरकाे यात्रा तय गर्न याेग्य छन् त ? अथवा वर्तमान पाँचदलीय गठबन्धन निर्वाचनसम्म कायम रहेन भने काे-काे हार स्वीकार्न बाध्य पर्लान् ? अथवा कसलाई कसकाे सहयाेग अपरिहार्य पर्ला जितका लागि ? प्रश्नहरू यत्रतत्र उब्जिन्छन् ।

यहाँ वर्तमान राजनीतिक समीकरण, पछिल्लाे स्थानीय तह सदस्यकाे निर्वाचनमा प्राप्त मत, उनीहरूकाे व्यक्तिगत ओजलगायतका आधारमा उनीहरूका सम्भावनाबारे चर्चा गर्ने प्रयास गरिएकाे छ, हेराैँ ।

शेरबहादुर देउवा : डडेलधुराका ‘बहादुर’

देउवा डडेलधुराबाट ६ पटक निर्वाचित भइसकेका छन् । २०७४ सालको निर्वाचनबाट पनि सोही क्षेत्रबाट निर्वाचित बनेका उनी अहिले प्रधानमन्त्री नै छन् । डडेलधुराबाटै जितेर उनी पाँच/पाँच पटक देशको प्रधानन्त्री बनिसकेका छन् । उनले जस्तोसुकै अवस्थामा त्यहाँबाट जित्दै आएका छन् । यस अर्थमा उनी त्यहाँका ‘बहादुर’ नै कहलिँदै आएका छन् ।

|प्रधान मन्त्री शेरबहादुर देउवा। तस्बिरः सरोज बस्नेत/मकालुखबर|

२०६४ सालकाे पहिलाे संविधान सभा निर्वाचनमा देशैभरबाट तत्कालीन नेकपा (माओवादी) ले जित्दै गर्दा त्यहाँबाट देउवाले नै फराकिलाे जित निकालेका थिए । २०७४ सालकाे निर्वाचनमा पनि उनलाई वाम गठबन्धनले हल्लाउनसमेत सकेकाे थिएन । त्यसबेला उनले २८ हजार ४ सय ४६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनबाट उम्मेदवार खगराज भट्टले बल्ल २१ हजार ४ सय ९८ मत पाएका थिए ।

उसो त यसपटकको समीकरण पनि देउवाकै सन्निकट देखिन्छ । गत स्थानीय तह सदस्य निर्वाचनले पनि देखाउँछ । स्थानीय तह सदस्य निर्वाचनमा डडेलधुराका ५२ वडामध्ये २९ वटा वडा कांग्रेसकै पाेल्टामा परेकाे छ । यसबाहेक माओवादी केन्द्रले १३, एमालेले ४ वडा, एकीकृत साजवादीले २, कांग्रेस (बीपी) ले २ र स्वतन्त्रले २ वडा जितेका छन् । यसरी हेर्दा देउवा भने गठबन्धन कायम नरहँदा पनि जित्ने सम्भावना बाेकेका पूर्वप्रधानमन्त्री हुन् । डडेलधुरा ५२ वडामध्ये २९ वटा वडा कांग्रेसले नै जितेकाे छ ।

यदि केन्द्रीय गठबन्धन कायमै रहने हाे भने त देउवाकाे पक्षमा ४४ वडाहरू पर्छन् ।

केपी शर्मा ओली : झापामा ‘ढुक्कै’

ओली २०७४ सालकाे निर्वाचनमा झाना क्षेत्र नं. ५ बाट निर्वाचित सांसद हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारलाई २८ हजार ८ सय ४२ मतान्तरले पराजित गरेका थिए । तर, उनलाई त्यसबेला माओवादी केन्द्र र राप्रपाकाे समर्थन थियाे । उनले ५७ हजार १ सय ३९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी अधिकारीकाे पक्षमा २८ हजार २ सय ९७ मत खसेकाे थियाे ।

गत स्थानीय सदस्य निर्वाचनअनुसार भने यस निर्वाचन क्षेत्रमा एमाले नै दह्राे देखिन्छ । यो निर्वाचन क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका ८ र गौरिगञ्ज गाउँपालिकाका ४ गरी २९ वटा वडा समावेश छन् । दमकका १० वडामध्ये ७ वडामा एमालेले जित निकालेकाे छ । यहाँ कांग्रेस, माओवादी केन्द्र र राप्रपाले चुनावी गठबन्धन गरेका थिए, जसबाट कांग्रेसले दुई र राप्रपाले १ वडा जितेका छन् । दमक ओलीकाे गृहनगर पनि हाे । त्यसकारण पनि यहाँ एमाले दह्राे देखिन्छ । यस्तै यही निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकामा कांग्रेसले जित निकालेकाे छ । जहाँ एमालेले ४ वडामा जित निकाल्दा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले १/१ वडा जितेका छन् । उता गौरादह नगरपालिकाका ८ वडामध्ये ४ मा एमाले जितेकाे छ भने कांग्रेस, माओवादी केन्द्रले क्रमश: २ र १ सँगै १ स्वतन्त्रले जित निकलाेकाे छ । गाैरीगञ्ज गाउँपालिकाका ४ वडामध्येमा पनि ३ मा एमाले जितेकाे छ भने १ मा कांग्रेसले बाजी मारेकाे छ ।

यसरी हेर्दा तुलनात्मकरूपमा ओलीकै पक्षमा परिणाम देखिन्छ । २९ वडाहरूमध्ये १८ वटा वडा एमालेकै पक्षमा देखिन्छ भने सत्तारुढ गठबन्धनकाे पक्षमा १० वडा मात्रै देखिन्छ । जहाँ गाैरादहमा एउटा वडा स्वतन्त्रले जितेकाे छ । यसरी हेर्दा ओलीलाई गठबन्धनले पनि हराउन नसक्ने देखिन्छ । त्यसाे त आसन्न निर्वाचनमा पनि गठबन्धन भर्सेस एमाले हुने पक्कपक्कीजस्तै भएकाे छ । त्यसमा झापा क्षेत्र नं. ५ मा एमाले दह्राे देखिन्छ ।

माधवकुमार नेपाल : राैतहटमा ‘निश्शङ्क’

२०७४ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ बाट निर्वाचित बनेका नेपालको ध्यान यसपटक रौतहटतिरै छ । गत स्थानीय तह सदस्य निर्वाचनमा काठमाडाैँ क्षेत्र नं. २ मा उनकाे पार्टी एकीकृत साजवादीले राम्राे गर्न सकेन । त्यसकारण पनि उनी पुरानै निर्वाचन क्षेत्र राैतहट फर्कन चाहन्छन् । उनले आफ्नाे अनुकूलताअनुसार काठमाडौँ नं. २ र रौतहट नं. १ दुवैबाट निर्वाचन लड्दै आएका छन् । यसपटक भने उनले रौतहट क्षेत्र नं. १ बाटै सम्भवत: निर्वाचन लड्नेछन् ।

यो निर्वाचन क्षेत्रमा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिकाका ३ र गरुडा नगरपालिकाको १ पर्छन् । जहाँ कूल ४१ वडा समावेश छन् । यहाँ एक्लाएक्लै हेर्ने हाे भने एकीकृत समाजवादी नै बलियाे देखिन्छ । याे निर्वाचन क्षेत्रमा कूल ४१ वडा पर्छन्, जसमा गत स्थानीय तह सदस्य निर्वाचनमा एकीकृत समाजवदी एक्लैले १७ वडा जितेकाे छ ।

यी ४१ वडामा एक्लाएक्लै हाे भने एकीकृत समाजवादी निकै अगाडि देखिन्छ । गत स्थानीय तह सदस् निर्वाचनमा एक्लैले १७ वडामा जित निकालेकाे छ । यसबाहेक कांग्रेसले ९, माओवादी केन्द्रले ५, जसपा, एमाले र लोसपाले ३/३ र स्वतन्त्रले १ वडा जितेकाे छ । यसाे हुँदा सत्तारुढ दलहरूले नेपाललाई साथ दिँदा उनीसँग ३४ वडाहरू हुनेछन् । याे भनेकाे उनकाे माेटामाेटी जित पक्काजस्तै मान्न सकिन्छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ : चितवनमा ‘धरमर’

प्रचण्ड करिब १५/२० वर्षयता नेपाली राजनीतिको एक ‘निर्णायक’ पात्र मानिन्छन् । उनी नेतृत्वमा नरहेपनि नेतृत्वलाई आफ्नो काबुमा राख्न सक्छन् भनेर विश्लेषण गरिन्छ । हुन पनि वर्तमान स्थिति नै पनि उस्तै छ । नेतृत्वमा देउवा छन्, तर उनी पनि प्रचण्डकै सल्लाहअनुसार चल्ने गरेकाे घटनाक्रमहरूले पुष्टि गर्दै आएका छन् । उनले नेतृत्व गरेकाे माओवादी केन्द्र अहिले पनि तेस्राे शक्ति मात्रै हाे र नेपालकाे निर्वाचन प्रणालीदेखि संसदीय राजनीतिकाे चक्कर खासगरीकन तेस्राे शक्ति नै निर्णायक ठहरिन्छ ।

तर, यसपटक भने उनलाई संसद्‌तिरकाे यात्रा तय गर्नै समस्या पर्ने त हाेइन भन्ने प्रश्न उठ्न थालेकाे छ । दुईपटक प्रधानमन्त्री बनिसकेका उनले यसपटक भने मुलुककाे दाेस्राे ठूलो दल एवम् गठबन्धनको सबैभन्दा ठूलो शक्ति नेपाली कांग्रेसकै भर पर्नुपर्ने देखिएको छ । यस अर्थमा उनी ‘परनिर्भर’ मा देखिन्छन् । २०७४ सालको निर्वाचनमा उनी चितवन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद हुन् । उनी त्यसबेला वाम गठबन्धनकाे सहयाेगमा जितेका थिए । त्यसबेला उनी ४८ हजार २ सय ७६ मत ल्याएर जिवयी बनेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेससँगको तालमेलमा उम्मेदवार बनेका राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत प्राप्त गरेका थिए । यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ गरी १९ वडा र माडी नगरपालिकाका सबै ९ वडा पर्छन् । गत स्थानीय तह सदस्य निर्वाचनमा भरतपुर महानगरपालिकाकाे प्रमुखमा प्रचण्डपुत्री रेनु दाहाल निर्वाचित बनेकी छन् । जहाँ याे निर्वाचन क्षेत्रमा पर्ने १९ मध्ये सबैभन्दा बढी १० वडा कांग्रेसले जितेको छ । एमाले र माओवादी केन्द्रले समान ३/३ वडा जितेका छन् । यस्तै एकीकृत समाजवादीले २ र १ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् । १९ मध्ये एमालेले जितेकाे ३ वटा वडा र स्वतन्त्रले जितेकाे १ वटा वडाबाहेकका मत प्रचण्डले नै पाउने निश्चित छ ।

यस्तै माडी नगरपालिकाका ९ वडामध्ये माओवादी केन्द्रले ४ वटा वडा जितेकाे छ । एकीकृत समाजवादी-राप्रपाले समान २/२ र एमालेले १ वडा जितेको छ । यहाँ कांग्रेसले भने शून्य भाेग्नुपर्‍याे । यसरी हेर्दा माडीबाट पनि प्रचण्डकाे पक्षमा ६ वटा वडा देखिन्छ । याे निर्वाचन क्षेत्रमा पर्ने २८ वटा वडामध्येबाट प्रचण्डकाे पक्षमा २१ वडा देखिन्छ । यसरी हेर्दाखेरी केन्द्रीय समीकरण नभत्किए प्रचण्डकाे जित निश्चितजस्तै छ ।

झलनाथ खनाल : अरुकै ‘भर’

२०७४ सालकाे निर्वाचनमा खनाल इलाम क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् । उनले कांग्रेसका उम्मेदवार भुपेन्द्र कट्टेललाई १७ हजार १ सय ६७ मतान्तरले पराजित गरेका थिए । खनालले ३६ हजार ८०५ मत पाउँदा कट्टेलले १९ हजार ६ सय ३८ मात्रै पाएका थिए । उनी त्यसबेला एमालेबाट लडेका थिए, अहिले उनी एमालेमा छैनन् । उनी एकीकृत समाजवादीका सम्मानित नेता छन् । यसकै खतरा उनीमाथि देखिने हाे कि विश्लेषण शुरू भएकाे छ ।

गत स्थानीय तह सदस्य निर्वाचनले पनि उनकाे पक्षमा समीकरण नरहेकाे देखाउँछ । याे निर्वाचन क्षेत्रमा रोङ गाउँपालिका सबै ६ वडा, सूर्योदय नगरपालिकाका सबै १४ वडा, माईजोगमाई गाउँपालिकाका सबै ६ वडा, सन्दकपुर गाउँपालिकाका सबै ५ वडा, इलाम नगरपालिकाको वडा नम्बर १० र माई नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ९ र १० गरी ७ वडागरी ३९ वडा पर्छन् । जसमध्ये खनालसम्बद्ध एकीकृत समाजवादीले ६ वटा मात्रै वडा जितेकाे छ । सबैभन्दा बढी कांग्रेसले १६ वडा, एमालेले १५ वडा, जसपाले १ वडा र स्वतन्त्रले १ वडा जितेका छन् ।

यहाँ सबैभन्दा बलियाे कांग्रेस देखिन्छ दलगतरूपमा । यदि कांग्रेस वा एमालेकाे साथ नमिल्ने हाे भने खनालले हार बेहाेर्नुपर्ने हुनसक्छ । तर, गठबन्धनबाटैचाहिँ उनी उम्मेदवार बने भनेचाहिँ उनकाे जित निश्चितप्राय: हुनसक्छ । गठबन्धनसम्बद्ध दलहरूले साथ दिएकाे खण्डमा उनकाे पक्षमा ३९ वडामध्ये २३ वडा देखिन्छ ।

डा. बाबुराम भट्टराई : गाेरखामा ‘मुस्किल’

पूर्वप्रधानमन्त्री भट्टराईले भर्खरै नेपाल समाजवादी पार्टी (नेसपा) बनाएका छन् । एक हिसाबले भन्ने हो भने उनी अहिले राजनीतिक यात्राकाे अप्ठ्याराे माेडमा छन् । निर्वाचनकाे पूर्वसन्ध्यामा उनले बनाएकाे नयाँ दलकाे विस्तार पनि त्यत्ति तीव्र देखिँदैन । यसाे हुँदा उनकाे संसद् यात्रा त टुङ्गिँदैन भन्ने स्वाभाविक प्रश्न उठ्न थालेकाे छ ।  २०६४ सालकाे पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका गोरखाबाट जिते उनी त्यसयताका भएका २ निर्वाचनमा पनि हारेका छैनन् । तर यसपटक भने उनलाई केही सकस पर्न सक्ने विश्लेषण गरिन्छ । २०७४ सालको निर्वाचनमा पनि उनी गोरखा क्षेत्र नं. २ बाटै जितेका हुन् । त्यसबेला उनी तत्कालीन नयाँ शक्तिबाट निर्वाचित बनेका हुन् । उनले त्यसबेला कांग्रेसको साथ पाएर ३१ हजार ८ सय ७ मत प्राप्त गरेका थिए । त्यसतिबेला वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मतमै चित्त बुझाउनुपरेकाे थियाे ।

यो निर्वाचन क्षेत्रमा पालुङटारका १० वडा सबै, सिरानचको गाउँपालिकाका ८ वडा सबै, अजिरकोट गाउँपालिकाका ५ वडा, बारपाक सुलिकोट गाउँपालिकाका ८ वडा सबै र गोरखा नगरपालिकाका वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ गरी ७ वडा सहित कूल ३८ वडा समावेश छन् । गत स्थानीय सदस्य निर्वाचनमा यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्र बलियाे देखिन्छ । यो निर्वाचन क्षेत्रमा पर्ने भट्टराईकाे गृहनगर पालुङटार नगरपालिकासँगै अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र गोरखा नगरपालिका माओवादी केन्द्रले जितेकाे छ । यस्तै सिराञ्चोक गाउँपालिकामा कांग्रेस जितेको छ ।

३८ वडामध्येमा पनि १८ वडा माओवादी केन्द्रले जित्दा १७ मा कांग्रेस जितेको छ । बाँकी ३ वटा वडा मात्रै भट्टराई संलग्न रहेको तत्कालीन पार्टी जसपाले जितेको छ । यस्ताे अवस्थामा उनले माओवादी वा कांग्रेसकै साथ लिनुपर्ने देखिन्छ । यदि त्यसाे नहुने हाे भने उनकाे संसद् यात्रा टुङ्गिन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *