सम्झानामा चार सहिद : रगतले कोरिएको ‘कान्छो प्रदेश’ अर्थात् कर्णाली !

सात वर्षसम्म सहिद परिवारमा छाएन् खुसी

सुर्खेत । २०७२ साल साउन २१ गते नेपाल सरकारले सङ्घीयता निर्माणका लागि प्रदेशहरूको नक्साङ्कन गर्‍यो । उक्त सिमाङ्कनमा साबिकका भेरी र कर्णाली अञ्चललाई सुदूरपश्चिम प्रदेशमा मिसाउने केन्द्रीय सरकारले निर्णय जारी गर्‍यो ।

सरकारको उक्त निर्णयले साबिक भेरी र कर्णाली अञ्चलका नागरिकलाई उपयुक्त भएन । उक्त निर्णय विरोधमा विद्यार्थी, बुद्धिजीवी, शिक्षक तथा नागरिक अगुवाहरू आन्दोलनको घोषणामा उत्रिएँ ।

बाँके, बर्दियासहित साबिक ‘अखण्ड मध्यपश्चिम’का लागि सिङ्गो भेरी, कर्णालीका नागरिकहरूको भिड् सडकमा सरकारको निर्णय विरुद्ध ओर्लियो । अखण्ड मध्यपश्चिम नै हुनुपर्छ, हामीलाई सिरदेखि पाउँसम्मको भूगोल चाहिन्छ भन्दै आन्दोलन चर्कियो ।

अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दामा केन्द्रित भयो । अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दालाई सुर्खेती जनता लगायत कर्णालीवासीले एकमतले अनुमोदन गरे ।

नागरिक समाजका केही अगुवाहरूले सङ्घर्ष समितिको गठन समेत गरी सरकारविरुद्ध थप आन्दोलनका घोषणा गर्न योजना समेत बनाएँ । हाल कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला र सुर्खेत जिल्लाका विभिन्न ठाउँमा आन्दोलन चर्कियो । यसरी साउन २२ र २३ गते हुँदै हालको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उर्लिएको आन्दोलनले जिल्ला प्रशासन कार्यालयमा क्षति समेत हुन पुग्यो । आन्दोलनकारीले विभिन्न नेताहरूका घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो ।

सहिदहरू क्रमशः सुर्खेतका याम बहादुर विसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवर ।

अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दाको आन्दोलन दिनप्रतिदिन चर्किँदै गयो । उक्त आन्दोलनको नियन्त्रण नभएपछि आन्दोलनमा एकैदिन अर्थात् साउन २५ गते तीन जनाको मृत्यु भयो । उक्त आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सुर्खेतका टीकाराम गौतमको घटनास्थलमै ज्यान गएको थियो ।

सुर्खेतका यामबहादुर बिसी वीरेन्द्रनगरको धमलाचोक नजिकै रहेको अवस्थामा प्रहरीले चलाएको गोली लागेर ढले । सुर्खेतको मंगलगढीचोकमा आएको आन्दोलनले गोपालसिंह रजबार भाग्ने क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर सदाका लागि उनी पनि बिदा भए ।
त्यस्तै साबिक कर्णालीका पाँचै जिल्लामा आन्दोलन चर्किएको थियो ।

जुम्लामा पनि प्रहरीले आन्दोलनकारीलाई दमन गरी चलाएको गोली लागेर हरिबहादुर कुँवर घाइते भए । घाइते कुँवरलाई उपचारको लागि काठमाडौँ पुर्‍याइयो । तर, पनि गम्भीर घाइते भएका कुँवरले साउन २६ गते शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा ज्यान गुमाए । उक्त आन्दोलनमा जुम्लावासीले ‘बरु रोटी खाँदैनौँ हामी डोटी जाँदैनौँ’ भन्ने नारा लगाएका थिए ।

२०७२ भदौ ४ गते नेपाल सरकारले भेरी र कर्णालीका १० जिल्लालाई नयाँ सिमाङ्कन गर्दै ६ नम्बर प्रदेशको घोषणा गर्न बाध्य भएको थियो । पछि सरकारले चारै जनालाई सहिद घोषणा गरेको हो ।

नेपालमा भएका विभिन्न चरणका आन्दोलनहरूमा शहादत प्राप्त गरेकाहरूको लाइनमा तत्कालीन ६ नम्बर प्रदेश अर्थात् (कर्णाली प्रदेश)का चार जनाको नाम समेत थपियो । उनीहरूको बलिदानीका कारण अहिले कर्णाली प्रदेश प्राप्त भएको हो । प्रदेश प्राप्तिका लागि भएको आन्दोलनले बुधवार (साउन २५) बाट ठिक ७ वर्ष पुरा गरेको छ ।

सहिद परिवारमा पलाएन खुसी

प्रत्येक वर्ष साउन २५ गते आउँदा सहिद यामबहादुर बिसीका परिवारलाई स्वर्गीय यामबहादुरको यादले सताउँछ । सहिद यामबहादुर बिसीकी बहिनी भगवती बिसी भन्छिन् ‘मेरो दाइ सँगै अन्य तीन जनाको बलिदानले ‘कान्छो प्रदेश’ बन्यो । धेरै व्यक्तिहरू सत्तामा पुगे ।’

भगवतीले थपिन् ‘केही व्यक्तिहरू हाल पनि सत्तामा पुग्नैका लागि कर्णालीमा लुछाचुँडी गर्दै छन् । तर, घरपरिवारमा अहिलेको अवस्था हेर्दा पनि शान्तिको श्वास फेर्ने अवस्था छैन, मेरो दाइ सहिद भएको पनि सात वर्ष बित्यो, घरपरिवारमा आज सम्म खुसी पाएको छैन ।’

यता नयाँ प्रदेशको लागि ज्यान गुमाउनेहरू प्रति कर्णाली सरकाले कुनै चासो नदेखाएको सहिद परिवारहरूले गुनासो गरेका छन् । पीडित परिवारहरूले आफ्नो परिवारको सदस्य गुमाउनेहरूको घाउमा अझैसम्म पनि मलहम लाग्न नसकेको परिवारको गुनासो रहेको छ ।

कर्णाली जन्माउने उनै ४ जना सहिदलाई कर्णाली प्रदेश सरकारले बिर्सिँदै गएको परिवारले गुनासो गरेका छन् । वीरेन्द्रनगरमा बुधवार सहिद याम बिसी स्मृति प्रतिष्ठानले गरेको ७औँ सहिद स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सरकारले पीडामाथि झन् पीडा थप्दै गएको उनीहरूको गुनासो थियो ।

सहिद बिसीकी बहिनी भगवती बिसीले अधिकार प्राप्तिको लडाइँमा रगत बगाएका सहिदलाई सरकारले अपमान गरेको दुखेसो पोखिन् । बिसीले भनिन् ‘प्रदेश सरकारले हामीलाई जुन प्रकारको आश्वासन दिएको थियो त्यस अनुसार काम नहुँदा पीडा बोध हुन्छ, कसैको चाकडी गर्न नसक्दा एउटा सानो श्रद्धाञ्जली सभा आयोजना गर्न हलको व्यवस्थासमेत गर्न सक्नु भएन’ उनले भनिन्, ‘आजको दिन इतिहासकै कालो दिन हो, इतिहास र सहिदको रगतको अपमान हुनु भनेको हाम्रो अस्तित्व सकिनु हो ।’

यस्तै, वीरेन्द्रनगर–४ का अमृत गौतम सरकारले छात्रवृत्तिका नाममा २४ हजार बाहेक अन्य सहयोग नगरेको गुनासो गर्छन् । सहिदका परिवारलाई छात्रवृत्ति, औषधी उपचार, आयआर्जन तथा रोजगारी दिइने भनिएको थियो । तर, त्यो गफैमा सीमित भएको अमृतको गुनासो छ ।

उनकी आमा दुर्गादेवी गौतम दीर्घ रोगी छिन् । मुटुको भल्व परिवर्तन गरेकी दुर्गादेवीलाई अहिले उपचारमा समस्या भइरहेको छ । आम्दानीको मुख्य स्रोत कृषि रहेको टिकारामको ६ जनाको परिवार उनकै कमाइले पालि रहेको थियो । अहिले उनको परिवार समस्यामा परेको छ ।

कर्णाली सरकारले सहिदका सपना पूरा गर्छ : मन्त्री बुढाक्षेत्री

श्रद्धाञ्जली सभामा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले सहिदको सपना साकार पार्न लागि परेको बताए । सङ्घीयता प्राप्ति पछिको आन्दोलनले कर्णाली जन्मेको भन्दै मन्त्री बुढा क्षेत्रीले प्रदेश प्राप्तिको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने ४ जनालाई कर्णाली सरकारले उच्च सम्मान गरी रहेको बताए ।

मन्त्री बुढाले भने, ‘कर्णाली प्राकृतिक सम्पदामा धनी छ, यसलाई हामीले अतिकत् प्रयोगमा ल्याउन सकेको खण्डमा समृद्ध कर्णाली बनाउन सकिन्छ । सङ्घीय संरचना अनुसारका अधिकार प्रयोग गरी कर्णालीलाई अगाडि बढाउने जिम्मेवारी हामी सबैको हो, हामी मिलेर अगाडि बढ्न सकेनौ भने सहिदका सपना कदापि पुरा हुने छैनन् ।’

सहिदको सम्झनामा प्रादेशिक सहिद पार्क स्थापना गरिएको उल्लेख गर्दै परिवारका बालबालिकालाई छात्रवृत्ति, जीविकोपार्जन, रोजगारी, घाइतेहरूको उपचार र उत्थानमा प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने मन्त्री बुढाको बनाई रहेको छ ।

फोटोः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *