‘उबेला तपाईंले भन्नुभएझैँ भौतिक शरीर नरहेपनि तपाईंको आवाज जुगजुगान्तर बाँचिरहने छ’

काठमाडौँ । खोटाङ उसै पनि धेरै कुराले विकट । त्यसमा पनि सम्भवतः खोटाङ जिल्लाभरिकै हाम्रो रिब्जुङ भौगोलिक विकटतासँगै विकासका पूर्वाधारहरूको हिसाबले पछाडि नै हुनुपर्छ । त्यसो त आजभन्दा झन्डै साढे एक दशकभन्दा अघि; जुनबेला म स्कूले जीवन बिताइरहेको थिएँ, त्यसबेला रिब्जुङमा न मिडिया पुग्थे, न कुनै सञ्चारमाध्यम नै हुन्थे । यसपछि रिब्जुङभित्रका प्रतिभाले कुनै स्थान पाउने कुरै पनि भएन । यसरी भनाैँ— कला भएर पनि नभएझैँ हुनुपर्ने अवस्था थियाे ।

हुन त अहिले पनि खासै सुधार त कहाँ भएकाे छ र ? त्यसताका रिब्जुङ महेश्वरीको शिशु माविमा पढ्ने राम जनम भन्ने मान्छे पढाइमा साह्रै ट्यालेन्ट छन् भन्थे काेही-काेही । उबेलै कक्षा ७/८ मा पढ्दाताका गीत, सङ्गीतप्रति उहाँको खुब लगाव थियो रे ! त्यहीँबेला उहाँले गीत गाउँछु, गायक बन्छु, गायक बनियाे भने आफू मरेर गएपनि जुगौंजुग आफ्नो स्वर बाँचिरहन्छ भन्ने गर्नुहुन्थ्यो रे ! आफ्नो भाषा, संस्कार, संस्कृति तथा रीतिरिवाजप्रति उहाँको बिछट्टै लगाव थियो रे ! मेरै दाइ सोनाम राई उहाँको क्लासमेट हुनुभएको नाताले गर्दा पनि उहाँबारे सुनाइरहनुहुन्थ्यो । त्यसपछि गाउँघरमा सानो-तिनो रात्रिनाटक मञ्चन कार्यक्रमतिर म्यूजिक ट्र्याकमा गीत गाउने चलन आयो । गाउँका दाइ, दिदीहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्नुहुन्थ्यो, त्यहीँबेला जो मैले जान्दादेखि नै जनम थुलुङ गीत गाउन तत्पर भइहाल्नुहुन्थ्यो । पछि दाइहरू आ-आफ्नो बाध्यताले गाउँबाट टाढिनुभयाे । त्यसपछि हामीले कार्यक्रम आयोजना गर्थ लाल्याैँ, एक हिसाबले भन्ने हाे भने गाउँमा चलिआएकाे चलनलाई हामीले थेग्याैँ, निरन्तरता दियाैँ । त्यसताकासम्म त उहाँको आफ्नै गीत रिब्जुङभरि नै गुन्जिन्थ्यो । ‘सन्जोगले भेट हुँदा आँसु खस्यो हर्षले, बाँचे फेरि भेटौँला है मरे कटुन्जे’ जस्ता गीतहरू गाउँभरी बज्थे। सबैले गुन्गुनाउँथे । २०६७/०६८ सालतिर हुनुपर्छ, हामी एसएलसीका लागि तयारी अवस्थामा थियाैँ । त्यसताका यो गीत यति धेरै गुन्जियो कि, मैले जान्दा रिब्जुङमा आयोजना हुने हरेक कार्यक्रमहरूमा उहाँको यही गीत गुन्जिन्थ्यो । उहाँ आफैँले पनि स्टेज तताउनुहुन्थ्यो, सबैलाई उफार्नुहुन्थ्याे र रुवाउन पनि हुन्थ्याे । धेरैलाई मनाेरञ्जन दिलाउनुभयो । हामी सबै गीतको मर्म बुझेर या नबुझेरै पनि रमाउँथ्यौँ/रुन्थ्याैँ । उबेला गीतको मर्म नबुझेरै पनि मानसपटलमा यो गीत गुन्जिरह्याे, अझै गुन्जिरहेकाे छ ।

पछि एसएलसी सकिएपछि म उच्च शिक्षाका लागि सङ्घीय राजधानी काठमाडाैँ आएँ । पहिल्यैबाट आफ्नो भाषा, संस्कृति र पहिचानप्रति मलाई औधी माया थियाे । विद्यालय पढ्दै गर्दा नै सदरमुकामबाट प्रकाशन हुने एउटा मासिक पत्रिकामा मेराे पहिलाे कविता छापिएकाे थियाे । पत्रिकाकाे नाम भने ठ्याक्कै याद भएन । जे हाेस् त्याे मेराे पहिलाे भाषिक कविता थियाे । पछि त्रिभुवन विश्वविद्यालयमा मास्टर्स गर्दै गर्दा खुक्सङ काका (जनम थुलुङको आफ्नै दाजु) कै फेसबूकमा हुनुपर्छ; ‘थुलुङ भाषाको विद्यालयस्तरीय पाठ्यक्रम तयार गरिँदैँछ, इच्छुक जोकोही पनि जोडिन सक्नुहुन्छ’ भन्ने सूचना देखेँ । ‘रुख चढ्ने बाँदरलाई लिस्नु’झैँ भयाे । म जाेडिएँ । थुलुङ राईको संस्थाहरूसँग संस्थागतरूपमा जाेडिने माैका पाएँ । शुरूमा लेखककै रूपमै काम गर्ने अवसर पाएँ । त्यसपछि सह-कोषाध्यक्ष र लेखकको रूपमा आफ्नो जिम्मेवारी वहन गर्ने जिम्मा अग्रजहरूले नै दिलाइदिनुभयो । संस्थामा काम गर्न थालेपछि थुलुङ भाषा, संस्कार, संस्कृतिबारे थप अध्ययन गर्ने र जान्ने माैका मिल्याे । यसैबेला हो निकै वर्षपछि उबेला जनम थुलुङले गाउनुभएको ती गीतका मर्मबारे बुझ्ने माैका मिलेकाे । उहाँको गीतभित्रका शब्द ‘कटुन्जे’बारे जान्ने माैका मिल्याे । शब्द र त्यसकाे पुरातन महत्त्वमाथि केही अध्ययन गर्ने अवसरसमेत जुर्‍याे । यसबेलासम्म उहाँका थुप्रै थुलुङभाषी  तथा गैरथुलुङभाषी गीतहरू बजारमा आइसकेका थिए । ती सबै गीतहरूलाई नजिकबाट सुन्ने, मर्म बुझ्ने मौका जुर्दै आए । अनि थाहा भयो, ‘गीत त सिर्फ गीत मात्र नहुँदो रहेछ, गीतले इतिहास, भाषा, भूगोल, संस्कार-सस्कृति, मुन्दुम, अस्तित्व अनि पहिचानसमेत बाेक्दाेरहेछ ।’

उबेला मनाेरञ्जनका लागि मात्र सुनेको हरेक गीतहरू संस्थामा काम गर्न थालेपछि अझ बढी सुन्न थालेँ ।  प्रत्येक गीतका फेरहरूमा अर्थ खाेज्न थालेँ, भेट्दै पनि गएँ ।  थुलुङ राई समुदायका लागि उहाँको कालजयी आवाजहरू ‘बकि बकि बकिस्यो प्रच्यो प्रमेमिम्, न माल्तो थ्योम माल्तो ङाच्यो छारिमिम्, गुई हापा अम्स्ती, रोक्नी वो च्योमिम्, झापाकाेङ्ङा डुमुबासी, बाँचे फेरि भेटौँला है मरे कटुन्जे, खुवालुङ खुल खुल’लगायतका थुलुङभाषी तथा गैरथुलुङभाषी गीतहरू भाषाको विकास, संस्कृतिको संरक्षण र अधिकार/पहिचान प्राप्तिका निम्ति कोसेढुङ्गा सावित भएको छ । उहाँका मातृभाषी गीतहरू थुलुङ राई समुदाय मात्र नभइ गैरथुलुङ राई समुदायले पनि उत्तिकै मन पराएका छन् ।

आफ्नो भाषा थुलुङलाई कसरी बचाउन सकिन्छ ? भनेर पाठ्यपुस्तक निर्माणको काममा लागिरहेका हामीलाई उहाँका थुलुङ भाषाका गीतले थप ऊर्जा मिल्थ्यो । साँच्चै भन्ने हो भने भाषा बचाउन त गीतले पनि ठूलो भूमिका निर्वाह गरेकाे थियाे र छ । यही पाठ्यपुस्तक तयार पार्ने क्रममा नै जनम काकासँग नजिक हुने मौका मिल्यो, उहाँमा एक प्रकारको ऊर्जा, जिम्मेवारीबोध र प्रतिबद्धता थियो । हामी साइनोले काका-भतिज; उहाँले कहिलेकाहीँको भेटमा सधैँ सकारात्मक ऊर्जा दिने कुरा गर्नुहुन्थ्यो । ‘हाम्रो थुलुङ समुदायको भविष्यको जिम्मा हाम्रै हातमा छ भतिज’ भन्नुहुन्थ्यो । उहाँलगायत अरु साथीहरूको मेहेनत र सृजनाबाट हामी हाम्रो पाठ्यपुस्तकभित्रका ६ ओटा थुलुङभाषी बालगीतसमेत रेकर्ड गराउन सफल भयाैँ ।

हाल चर्चामा आइरहेको ‘खुवालुङ’को बारेमा विवाद हुनुभन्दा झन्ड‌ै दुईवर्षअघि नै उहाँले आफैँले सङ्गीत भरेर खुवालुङबारे गीत गाइसक्नुभएकाे थियाे । Janam Thulung Official Channel मार्फत् २०१९ मा रिलिज भएको यो गीत अहिले पनि सुन्न र हेर्न सकिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फुटाउँछु भनेपछि मात्र हाम्रा मान्छेले थाहा पाए खुवालुङबारे । तर, जनम थुलुङले किरातीको इतिहास खोतलेर किरात एकताको आह्वानसहित उहिल्यै खुवालुङसम्बन्धी गीत गाइसक्नुभएकाे थियाे । खुवालुङ के हो ? महत्त्व कस्तो छ ? भन्ने कुराहरू उहाँकै गीतमा भेटिन्छ । यसकारण पनि उहाँमा किरात राई समुदायभित्र जोडिएका हरेक कुराहरू, मिथक, मुन्दुमका कुरा, इतिहासका कुराहरू गीतकै माध्यमबाट भएपनि समुदायसम्म पुर्‍याउनुपर्छ है भन्ने ठूलो इच्छाशक्ति थियाे ।

यसैबीच थुलुङ राई भाषाको पाठ्यपुस्तक तयार पार्ने क्रममै म विद्यार्थीकाे रूपमा विदेसिएँ । पछि काकासँग नियमित कुराहरू हुन पाएन । तैपनि काकाले आफ्नो योजनाहरू सुनाइरहनुहुन्थ्याे । जुनबेला राज्यले खुवालुङ फुटाउन तयारी गरिरहेकाे थियाे, उबेला काकाले आफैँले गाउनुभएको गीत खुवालुङको भिडिओ बनाउने तयारी गर्दै हुनुहुन्थ्याे । भिडिओ निर्माणका निम्ति मसामु पनि आर्थिक सहयोगको प्रस्ताव राख्नुभएको थियो । मैले नि सहयोग गर्ने बाचा मात्र गरेको थिएँ । तर, अक्सर बाचा पूरा हुन पाएन । खबर पाएँ— जनम थुलुङ अस्ताए । स्तब्ध भएँ । श्रद्धाञ्जलीबाहेक केही भन्न/दिन सकिनँ ।

वास्तवमा किराती समुदाय र विशेषतः थुलुङ राई समुदायले एउटा जनम मात्र गुमाएको होइन, जनमसँगै एउटा होनहार स्रष्टा गुमाएको हाे । हाम्रो आवाज हामीले गुमाएका छाैँ । भाषा, पहिचान, मुन्दुम, इतिहासलाई उनेर सङ्गीत भर्ने, गीत गाउने प्रतिभालाई हामीले गुमाएका छाैँ । हामीले हाम्रो गीत, सङ्गीत गुमाएका छाैँ । साङ्गीतिक क्षेत्रका बृहस्पती गुमाएका छाैँ । समग्रमा किराती समुदायसँगै देशले नै एउटा होनहार युवा सर्जक गुमायाे ।

थुलुङ समुदायको गीत, सङ्गीतको क्षेत्रमा उहाँको योगदान अतुलनीय छ । वास्तवमा उहाँलाई गुमाउनु पर्दा थुलुङ राई समुदायलगायत देशैले ठूलो घाटा बेहोर्नुपरेको छ । उहाँजस्तो शक्तिशाली सर्जक सायदै जन्मेलान्/नजन्मेलान् । अझ यसो भनौँ— किराती र थुलुङ राई समुदायको गीत/सङ्गीतको क्षेत्रमा उहाँले देखाउनुभएको बाटो अबको दिनबाट बा! अधुरै पाे रहला कि ? अनि काेही हिँडेनन् भने नि ?’ अनुत्तरि प्रश्नहरू यत्रतत्र छन् ।

उहाँको योगदानप्रति थुलुङ राईसम्बद्ध संस्थाहरूले के-कति सम्मान तथा कदर गर्न सके ? दिन सके या सकेनन् ? यो कुरामा म जानकार हुन सकिनँ । तर, जनम थुलुङ स्मृति प्रतिष्ठानले जनम थुलुङ स्मृति ग्रन्थ तयार पार्न लागेको खबरले भने म निकै खुसी छु, हाैसिएकाे छु । तपाईंकाे अतुलनीय योगदान सदैव किराती समुदायले, इतिहासले, भविष्यले सम्झिरहने छ र सम्झिरहनु पनि पर्छ । उबेला तपाईंले भन्नुभएझैँ भौतिक शरीर नरहेपनि तपाईंको आवाज जुगजुगान्तर बाँचिरहने छ । समुदायप्रतिको तपाईंको योगदान सधैँ अजर रहिरहनेछ । आज तपाईंकै शब्द सापटी लिएर भन्छु – ‘कटुन्जेमै भेटौँला है काका !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *