महानगरद्वारा आवधिक योजनाका लागि विज्ञहरूसँग छलफल सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरको समग्र विकासकालागि विषय विज्ञहरूसित छलफल सुरु गरेको छ ।

महानगरले विषय विज्ञलाई बोलाएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाको बारेमा छलफल गरेको हो । के कस्ता योजना ल्याएर विराटनगरको बृहत्तर विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको महानगरले जनाएको छ। छलफलमा सहभागीहरूले सबैलाई करको दायरामा ल्याएर महानगरको आम्दानी बढाउनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरको पहिचान झल्कने योजनाहरू सञ्चालन गर्नसमेत सुझाव दिए ।

पहिलो चरणमा बुद्धिजीवी र विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध व्यक्तिहरूलाई प्रतिनिधिमूलक रूपमा छलफल गरेको छ । सो अवसरमा महानगर प्रमुख नागेश कोइरालाले महानगर योजना आयोग बनाएर विराटनगरको बृहत्तर विकासमा लाग्ने बताए । ‘महानगरको छुट्टै योजना बनाउने संयन्त्र बनाएर जाने र विकासको मोडल तयार गर्ने हाम्रो योजना छ’, उनले भने, ‘त्यसकालागि हामी गृहकार्यमा छौँ, अब विराटनगर यथास्थितिमा बस्न सक्दैन ।’

उनले आएको तीन महिना मात्र भएकोले अझै धेरै कुरा बुझ्नै समय लागेको बताए । महानगरको आवधिक योजनाका लागि प्रारम्भिक सुझाव सङ्कलन भएको उनको भनाइ छ । बढीभन्दा बढी प्रविधिको प्रयोग गरेर सेवाग्राहीको सहजताका महानगरले काम गर्ने उपप्रमुख शिल्पा निराला कार्कीले बत्ताइन् ।

सेवाग्राहीले घरबाटै कर तिर्ने वातावरण बनाउँदै गरेको जानकारी दिँदै कार्कीले महानगरपालिका भित्रको कर सङ्कलनलाई सहजीकरणको काम थालिएको जानकारी दिइन् ।

छलफलमा प्राडा पीके झा, डा भेषप्रसाद धमला, वरिष्ठ अधिवक्ता भरत थापा, विनयराज पाण्डे, महेन्द्र मोरङ क्याम्पसका प्रमुख प्राडा बाबुराम तिम्सिना, बुद्धिजीवी दिनेश श्रेष्ठ, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, महासचिव यज्ञ शर्मा, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अज्र्यालले नगरवासीको हितमा योजना बनाएर कार्यान्वयनमा लग्न सुझाव दिए । विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, साहित्यकार रामबाबु दाहाल, एविसी नेपालकी अध्यक्ष विष्णु शर्मा, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेल, युवा अभियन्ता वसन्त अधिकारीलगायतले महानगरको विकासका सन्दर्भमा सुझाव दिएका थिए ।

उद्योगी, व्यापारी, साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य, यातायात, बैङ्किङ, खेलकुदलगायत क्षेत्रगत रूपमा बेग्लाबेग्लै क्षेत्रका व्यक्तिलाई बोलाएर महानगरले छलफल सञ्चालन गर्ने महानगरको तयारी रहेको मेयर कोइरालाको भनाई छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *