सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवासम्बन्धी सम्झौता
काठमाडौँ । सिद्धार्थ बैंकले ग्राहक वर्गलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ ।
बैंकका ग्राहक वर्गले मोको डिजिटल वालेटमार्फत नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रुपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत् तथा खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानीलगायतका सेवा प्रयोग गर्न सकिने छ । यसका अतिरिक्त, ग्राहकवर्गले मोकोको एप मार्फत भिजा, यूपीआई, एलीपे, नेपालपे, खल्ति, आईएमईपे, प्रभुपे, क्युपे जस्ता विभिन्न क्युआर स्क्यान गरी वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी सजिलै गर्न सकिने छ ।
ग्राहक वर्गले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरेपछि भौतिक कार्ड साथमा नभए पनि मोको एप मार्फत विद्युतीय भुक्तानी गर्न सक्नेछन् । यसले गर्दा ग्राहकवर्गको विद्युतीय भुक्तानी सेवा अझ छिटो र सहज हुने बैंकले जनाएको छ ।