नेपालमा पहिलो पटक नबिल फोनलोन ‘क्यू आर मर्चेन्ट’ शुभारम्भ
काठमाडौँ । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात्सँगै क्यू आर मर्चेन्टले घरमा बसीबसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् ।
नबिल बैंकले युएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई लक्षित गरी यो सुविधा ल्याएको हो । यस सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीले नबिलको क्यू आर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ । र, नबिल स्मार्ट बैंकिङ लिनुपर्नेछ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यू आर कारोबारबाट रु १० हजार बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ ।
‘यो नबिलले ल्याएको पूर्ण रुपमा डिजिटल सेवा हो । हामीले कुनै धितो बिना नै क्यू आर कारोबारलाई आधार मानेर हाम्रा क्यू आर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौँ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले भने ।
उनले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताए ।
शुरुवाती चरणमा व्यवसायीले रु १ लाखसम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् ।
यस सुविधालाई अझ परिमार्जित गरी कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाए । यसअघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा नबिल फोनलोन ल्याएको थियो ।