सांस्कृतिक पर्वमा राजनीतिक व्यङ्ग्य ! (भिडिओसहित)
काठमाडाैँ । गाईचा पर्व नेवारहरूको एक विशेष पर्व हो । यो देउसी-भैलोजस्तै गरी मनाइन्छ । गाईजात्राको भोलिपल्टदेखि शुरू भएर कृष्ण जन्माष्टमीसम्म मनाइने यो पर्वमा खासगरी भक्तपुरका नेवारहरूले विभिन्न गीतसङ्गीत बाजा-गाजासहित व्यङ्ग्य नृत्य प्रस्तुत गर्ने गर्छन् ।
७ दिनसम्म मनाइने पर्वमा टोल-टोलका मानिसहरू समूह-समूह बनाएर आउँछन् र ठाउँ-ठाउँमा व्यङ्ग्य नृत्य प्रस्तुत गर्दछन् । उनीहरूकाे गीत र नृत्यले देशमा भएका समसामयिक घटना, विकृति र विसङ्गतिलाई व्यङ्ग्यमा उतार्छ । व्यङ्ग्य गर्न बनेकाे च्वाङ्गागणेश समूहका नेतृत्वकर्ता शारदाभक्त वैद्यकाअनुसार यस्ता गीत, सङ्गीत र नृत्यले राजनीतिक एवम् सामाजिक विकृति-विसंगतिलाई व्यङ्ग्य गर्दछ । ‘शैली फरक हुन्छ । तर, विषयहरूकाे उठान् गर्ने भनेकाेचाहिँ त्यही नै हाे । विकृतिकाे हाे, विसंगतिकाे हाे,’ उनले भनेका छन् ।
उनीहरूकाे व्यङ्ग्यत्मक गीत, सङ्गीत एवम् नृत्यमा विभिन्न ‘सटायर’हरू सुन्न र देख्न सकिन्थ्याे । भ्रष्टाचारदेखि नेताहरूकाे व्यक्तिगत आचरणसम्म उनीहरू मज्जाले व्यङ्ग्यमा उतार्छन् । उसाे त ‘करेन्ट’ राष्ट्रिय मुद्दासमेत उनीहरूले छाड्दैनन् । उनीहरूले अहिले विवादमा रहेकाे नागरिकता विधेयकसमेतलाई व्यङ्ग्यमा उतारेका थिए ।
यो परम्परा परापूर्वकालदेखि चल्दै आएको हाे । देशमा घटेका खासगरी सामाजिक एवम् राजनीतिक घटनालाई गीत, सङ्गीत एवम् नृत्यको रूपमा प्रस्तुत गरी समाजलाई सु-सूचित गराउनु समूहकाे मुख्य उद्देश्य हुन्छ । वैद्य भन्छन्, ‘यी समूहहरूकाे उद्देश्य नै अरु हुँदैनन् । सिर्फ यस्ता विकृतिहरूलाई व्यङ्ग्यमा उतार्ने र समाजलाई देखाउने हाे ।’
पर्वमा गाइने गीत टाेली नेता स्वयम्ले तयार गर्ने परम्परा रहेकाे छ भने अन्य सदस्यले नाचगानकाे जिम्मा लिनुपर्छ । यस्ताे प्रस्तुतिका लागि उनीहरूले २ हप्तादेखि १ महिनादेखि नै तयारी गर्दछन् । उनीहरू याे मान्छन् कि कम ‘रिहर्सल’ भयाे भने बिग्रन्छ । नृत्य गर्ने मारुना-मारुनीहरू नेवारी पहिरनमा सजिएका हुन्छन् ।
खासगरी बेलुकी ६ बजेदेखि ११ बजेसम्म देखाइने पर्वमा बच्चादेखि बूढापाकासम्मका मानिसहरू सहभागी हुन्छन् र रमाउँछन् । कुनै पनि समूहमा सरिक नभएका मानिसहरू भने नाचगानका बेला बाहिर निस्केर वा झ्यालबाट रमणिय दृश्यकाे अवलोकन गर्ने गर्दछन् । झिलिमिली भएर आएका प्रस्तोताहरूले सूचना बाँडी पूरै भक्तपुरलाईनै झिलिमिली पारेर जान्छन् ।
भिडिओ हेर्नुस्;