समयमै किताब नपुर्याएको भन्दै जनक शिक्षाका कर्णाली प्रमुखलाई दलियो मोसो
सुर्खेत । जनक शिक्षा सामाग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई मोसो दलिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले प्रमुख केसीलाई मोसो दलेको हो।
शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दा पनि समयमै कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक नपुर्याएको भन्दै मोसो दलिएको हो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका निकट विद्यार्थी संगठन क्रान्तिकारीका केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज तुलाराम तिरुवाको संयोजकमा प्रमुख केसीलाई मोसो दलेका हुन् ।
उनीहरूले मनोमानी ढंगले पुस्त वितरण गरी पुस्तक व्यवसायीसँग करोडौँ कमिसन लगेको, हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगु लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र ढुवानीबाट लाखौँ कमिसन आएको आरोप लगाएका छन् ।
यस्तै, सरकारी कार्यालयलाई निजी पैतृक सम्पत्तिको रूपमा प्रयोग गर्ने र कार्यालयमा विवाह व्रतबन्ध जस्ता कार्यक्रम गरेको उनीहरूको आरोप रहेको छ । यस्तै, विद्यार्थीले प्रमुख केसीलाई मोसो दलेको कुरा सत्य रहेको उक्त कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
उनकाअनुसार मोसो दल्नेहरू फरार रहेकोले उनीहरूको खोजी कार्य प्रहरीले गरिरहेको छ ।