विनोद ढकाल : कार्यकर्तामा लोकप्रिय नेता !

विराटनगर । भोजपुरमा जन्मिएर भोजपुरबाट राजनीति शुरु गरेका विनोद ढकालले २०३५/०३६ साल तिर नै राजनीतिमा लागे । राजनीतिक जीवनमा ११ वर्षको कलिलो उमेरदेखि नै बुझी नबुझी राजनीतिमा लागेका बताउने ढकाल बहुदल र निर्दल के हुने भन्ने बेलामा नबुझेरै पनि बहुदल भन्दै हिँडे ।

वि.सं. २०३८ सालमा उनी कक्षा ८ मा पढ्दा भोजपुरको शारदा मावि प्याउलीमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदा अनेरास्ववियुबाट मतदान गरेको सम्झन्छन् । उनी राजनीतिक रूपमा सक्रिय भएर लागेको भएपनि एसएलसीपछि २०४२ सालमा विराटनगर आएर ल क्याम्पस भर्ना भएपछि अनेरास्ववियुसँगै पार्टीमा निरन्तर लाग्दै आए ।

बाहिरबाट विराटनगर आउँदा अप्ठेरो महसुस नगरेका ढकालको लागि विराटनगरको बसाई सहजै बन्यो । भोजपुरबाट विराटनगर आएरपनि विराटनगरको स्थानीय नै हो भन्ने खालको बनाउन सफल भएको उनी सुनाउँछन् । शुरुमा ल क्याम्पस भर्ना भएपछि उनी अनेरास्ववियुको सह प्रारम्भिक कमिटीमा बसेर काम गरे, त्यही क्याम्पसको प्रारम्भिक कमिटी हुँदै नगर कमिटीमा पुगे ।

नगर कमिटीको उपाध्यक्ष त्यसपछि अध्यक्ष हुँदै जिल्ला कमिटीको सचिव अनि अध्यक्ष पनि भए । उनी दुई पटक जिल्ला कमिटीको अध्यक्ष भएर काम गरेको सुनाउँछन् । विद्यार्थी राजनीतिमा कोशीको प्रमुख, पूर्वाञ्चल प्रमुख, संगठन विभाग प्रमुख हुँदै अखिलको केन्द्रीय उपाध्यक्षसम्म पुगेर २०५७ सालमा अखिलबाट ढकाल बिदा भएका थिए । त्यतिबेलासम्म उनले आफ्नो राजनीति यात्रा पार्टी कमिटीको तहमा उभ्याउन भ्याई सकेका थिए । वडा, नगर, पार्टीको दुई पटक जिल्ला अध्यक्ष र एक पटक सचिव गरी ३ पटक मोरङ जिल्लाको नेतृत्व गरे भने उनी नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यसम्म भएका छन् ।

पार्टी भित्र नहारेका
पार्टी कमिटीमा कहिल्यै नहारेका र नेतृत्व रहेका ढकाल अहिलेसम्म जनप्रतिनिधि हुन सकेका छैनन् । नागरिकको अपेक्षा अनुसार निर्वाचित नभई पार्टीमा बसेर काम गरेको भएपनि निर्वाचित भएर आफूले भूमिका देखाउने ठाउँमा पुग्न नसकेको उनको भनाई छ ।

२०६५ सालको संविधान सभाको निर्वचनमा मोरङ र सुनसरी दुई ठाउँबाट नै विजयकुमार गच्छदार निर्वाचित भएपछि गच्छदारले मोरङलाई छाडे । उपनिर्वाचन हुँदा ढकाल अहिलेको क्षेत्र नम्बर ६ बाट उठेका थिए । त्यो बेलामा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट चुमनारायण दवदार र नेकपा एमालेबाट विनोद ढकाल उठेका थिए ।

उपनिर्वाचनमा डा कोइरालासँग ढकाल पराजित भए । संविधानसभाको उपनिर्वाचन भन्दा पहिला उनी कुनैपनि निर्वाचनमा सहभागी थिएनन् । ‘मलाई त्यो भन्दा अगाडी निर्वाचनमा जानु पर्छ भन्ने रहर नै भएन,’ उनले भने, ‘एउटा मौका संविधान सभाको उप निर्वाचनबाट आएको थियो ।’

उपनिर्वाचनपछि उनले चुनावी अनुभव भने विराटनगर महानगरपालिकाको मेयरको लागि २०७४ सालमा प्रतिस्पर्धा गरेका थिए । ‘आफू चुनावमा उठ्ने मनसाय व्यक्त गरेको बेलामा चुनावमा उठ्न नपाएको वा अनुकूलता नभएको भने छैन,’ उनी भन्छन्, ‘पार्टी कार्यकर्तामा चुनाव लड्नु र नागरिकमा भएर अनुमोदित हुने कुरा फरक हो, यो प्राविधिक कुरा पनि हो ।’

कार्यकर्ता आफ्नो पार्टी भित्र केन्द्रित हुने भएकोले पार्टी भित्र सहज हुने भएपनि आम नागरिकमा गएर निर्वाचित हुने कुरा निक्कै मेहनत गर्नु पर्ने उनको अनुभव छ । उनले अहिलेसम्म नागरिकबाट निर्वाचित हुने मौका भने पाएका छैनन् । उनले दुई पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दा संविधान सभाको उपनिर्वाचनमा चुनावको अनुभव नै नभएको सुनाउँछन् ।

महानगरपालिकाको मेयरको निर्वाचनको बेलामा शुरुमा उम्मेदवार हुने नै भन्ने बारेमा चासो नदिएको भएपनि पछि मात्र साथीभाइहरूले ल उठौँ जितिन्छ भनेपछि मात्र चुनावी प्रतिस्पर्धामा गएको उनले बताए । ‘मैले प्रतिस्पर्धा गरेका दुवै चुनाव मेरोलागि अनुकूल भएनन्,’ ढकाल भन्छन्, ‘म सँग चुनाव उठेको अनुभव छ, जितेको अनुभव छैन ।’

अहिले सबै दलमा चुनावी सरगर्मी बढेको छ । सबैले आफ्ना इच्छा र आकाङ्क्षाहरू व्यक्त गरिरहँदा उनी पनि चुनावी प्रतिस्पर्धामा जाने मनस्थितिमा देखिन्छन् । अहिले नै कुन क्षेत्रबाट को चुनाव लड्ने वा उठ्ने भन्ने स्पष्ट भई नसकेको उनको भनाई छ । अहिले नै कुनैपनि नेताले म यो निर्वाचन क्षेत्रबाट उठ्छु भनेर एमाले भित्र बोलिसकेका छैनन् ।

उनी पनि मुख खोलेर म यो निर्वाचन क्षेत्रबाट लड्छु नभनेपनि क्षेत्र नम्बर ४ बाट निर्वाचनमा उठ्ने तयारीमा देखिन्छन् । मोरङका ६ सङ्घीय निर्वाचन क्षेत्र १२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको भएपनि उनी प्रदेशबाट निर्वाचनमा उठ्ने मनस्थितिमा छैनन् उनी सङ्घीय निर्वाचन क्षेत्रबाट नै चुनाव उठ्ने तयारीमा रहेको बताउँछन् ।

अरू क्षेत्रमा स्वतः उम्मेदवार रहेकोले क्षेत्र नम्बर ४ बाट नै चुनावमा उठ्नु पर्छ भन्ने कुरा कार्यकर्ता तहबाट आएको उनको भनाई छ । ‘सबैको चासो, रेस्पोन्स र फरक बिचार राख्ने पार्टीका नेताहरूबाट पनि जित्न सकिने खालका आधारहरू आएकोले कार्यकर्ता तहबाट क्षेत्र नम्बर ४ बाट उठ्नु पर्छ भन्ने कुरा आएको छ,’ उनी भन्छन्, ‘चर्चामा आएको र नागरिकले रेस्पोन्स गरेको महसुस मैले गरेको छु ।’

औपचारिक रूपमा को उम्मेदवार कुन क्षेत्रबाट उठ्ने भन्ने स्पष्ट भइसकेको छैन, भदौकोअन्तिम सम्ममा कुन उम्मेदवार कहाँबाट उठ्ने भन्ने कुरा आउनसक्ने उनले स्पष्ट पारे । अहिलेपनि निर्वाचित जनप्रतिनिधि जतिकै काम गरेको अनुभव आफूसँग रहेको बताएका ढकालले चर्चामा आएपनि भोलि उम्मेदवार नै नहुँदाको अवस्थामा कुनै फरक भने नपर्ने बताए ।

‘सबै उम्मेदवार हुनु पर्छ भन्ने हुँदैन,’उनले भने, ‘यदि उम्मेदवार नभएको अवस्थामा पनि जनतामा रहेर काम गर्ने कुरा, पार्टीको नेतृत्वमा बसेर काम गर्ने कुरा हुन्छ, उम्मेदवार बन्न मरिहत्ते गरेर लाग्नु पर्छ भन्ने छैन, तर क्षेत्रबाट नाम चर्चामा आएको अवस्थामा उम्मेदवार हुनु पर्छ भनेर आएको कुरा स्वाभाविक हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *