दुर्घटनामा घाइते पत्रकारलाई एक लाख रूपैयाँ उपचार सहयोग 

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा शनिबार सञ्चारकर्मी दाहलकै घरमा पुगेर युनियन सुनसरीले दुर्घटनाबापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरपछि बोल्दै महासंघका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने उल्लेख गरे ।  पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि मसँग संस्था छ, समुदाय छ, भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हुने पोखरेलले बताए ।

बीमाले उपलब्ध गराएको रकमले सबै उपचार सम्भव नभए पनि संस्था साथै रहेको अनुभूति गर्नु महत्त्वपूर्ण रहेको उनले बताए । प्रेस युनियनको उक्त कार्य सराहनीय रहेको भन्दै उनले प्रशंसा समेत गरे ।

युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले आफूले युनियनको नेतृत्व सम्हालिसकेपछि पत्रकारितामा सक्रियहरूको हितको निम्ति काम गरिरहेको बताए । अजोड इन्स्योरेन्ससँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका २७४ जना सञ्चारकर्मीहरूको दुर्घटना बीमा गरेको उनले जानकारी दिए ।

कोरोना कालमा कोरोना बीमाको ३० जना सञ्चारकर्मीलाई ३० लाख रुपैयाँ समेत हस्तान्तरण गरिएको जानकारी दिए । दाहाल एक महिना अगाडि सवारी दुर्घटनामा परी घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *