भाेजपुरबाहेक अन्तबाट चुनाव लड्ने चाहाना छैन : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धनले उम्मेदवार नबनाउने निर्णय गरे आफू उम्मेदवार नबन्न तयार बताएका छन् । सामाजिक सञ्जालमा भ्रम नपर्न आग्रह गर्दै उनले आफूले भोजपुर छाडेर अन्य जिल्लामा गएर चुनाव लड्ने कुरा ०.१ प्रतिशत पनि सम्भावना नभएको बताएका छन् ।

मङ्सिर ४ गते हुन लागेको चुनावको लागि म राजेन्द्र राईको नाम म संलग्न रहेको पार्टीको तर्फबाट सांसद उम्मेदवारीको लागि मेरो गृह जिल्ला भोजपुरको अलावा सुनसरी क्षेत्र १ बाट समेत सिफारिस भएको बारे केही कुरा प्रस्ट पार्न भन्दै ४ बुँदामा प्रष्टीकरण दिएका छन् ।

‘दुवै जिल्लाबाट भएको सिफारिस नितान्त पार्टीको आफ्नो मूल्याङ्कन, चाहनाको आधारमा भएको हो यसमा मेरो कुनै हात, इसारा, सङ्केत, माग, चाहना जोडिएको छैन’, उनले लेखेका छन्, ‘म पार्टीको एक अनुशासित कार्यकर्ता भएको नाताले पार्टीको निर्णय मैले सधैँ मान्न पर्छ नै र अहिले खास उद्देश्यका लागि हाम्रो पार्टी गठबन्धनमा छ, गठबन्धनबाटै चुनाव लड्ने निर्णयमा छ । त्यसैले उम्मेदवारीको हकमा गठबन्धनबाट गरिने जुनसुकै निर्णय पनि मानेर जान म तयार छु ।’

गठबन्धनभित्र उछिनपाछिन गर्ने पक्षमा आफू नरहेको बताउँदै नेताले चुनाव लड्नै पर्छ, सांसद बन्नै पर्छ भन्ने नभएकाे बताएका छन् । पार्टी र गठबन्धनले उम्मेदवार नबनाउने निर्णय गर्‍यो भने आफू उम्मेदवार नबन्न तयार रहेको उनले बताए ।

‘भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो’, उनले लेखेका छन्, ‘भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र विश्वास गरिराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो ०.१ प्रतिशत पनि चाहना,सोच, भोजपुरे जनताले माया र विश्वास गरेसम्म म सांसद, मन्त्री केही नभई भुइँमा बसेर नि भोजपुरे र भोजपुरे जनताको सेवा गर्न चाहन्छु ।’

उनले सांसद, मन्त्री बन्न अन्त जाने कुनै सोच र चाहना नभएको उनले उल्लेख गरेका छन् । सजिलो देख्दा उछिनापछिन गर्ने अप्ठेरो देख्दा भाग्ने मानिस आफू नभएको पनि प्रष्टीकरण दिएका छन् ।

पार्टीको निर्देशन भयो भने जस्तासुकै अप्ठ्यारोमा उम्मेदवार बन्न र काम गर्न तयार रहेको जानकारी दिँदै उनले अप्ठ्यारो देखेर पन्छिन्छ कि त्यस्तो कसैले नठान्न आग्रह गरे ।

मुख्यमन्त्री राईलाई सुनसरी क्षेत्र नम्बर १ बाट संघीय संसद्को निर्वाचनको लागि पार्टीले सिफारिस गरेपछि भोजपुरमा राईविरुद्ध टीकाटिप्पणीहरू भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *