औषधी उद्योगमा बेलायती लगानी भित्र्याउन विराटनगरका व्यापारीको आग्रह

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औद्योगिक विकासमा सीप र प्रविधि हस्तान्तरण मार्फत सहयोग गर्न बेलायती राजदूत निकोला पोलिटसँग आग्रह गरेको छ ।

राजदूत पोलिटको पहिलो प्रदेश १ भ्रमणका अवसरमा सोमबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा महासंघका प्रतिनिधिहरूले प्रदेशको आर्थिक विकासमा सहयोग गर्न आग्रह गरेका हुन् । भेटघाटमा महिला उद्यमीहरूले साना तथा लघु उद्यमलाई प्रोत्साहनमूलक कार्यक्रमहरू मार्फत सहयोग गर्न राजदूत पोलिटसँग आग्रह गरेका छन् ।

महासंघका प्रदेश १ अध्यक्ष टिकाराज ढकालले राजदूत निकोला पोलिट र डेपुटी राजदूत लुक विउमोन्टलाई प्रदेश १ को आर्थिक अवस्था, समस्या र सम्भावनाको बारेमा जानकारी गराएका थिए । अध्यक्ष ढकालले प्रदेश १ का पहाडी क्षेत्रका औषधी उद्योगहरू स्थापनाको सम्भावना रहेकोले बेलायती लगानी भित्र्याउनका लागि सहज हुने जानकारी गराए ।

कोभिड–१९ र पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धिका कारण नेपाली निर्यातमूलक उद्योगहरू प्रभावित भएको पनि व्यवसायीले राजदूतलाई सुनाएका छन् । प्रदेश १ मा औद्योगिक प्रदर्शनी स्थलको निर्माण हुन सके घरेलु उद्योगीहरूले समेत आफ्ना उत्पादनलाई प्रवर्द्धन गर्ने अवसर प्राप्त गर्ने बताए ।

कार्यक्रममा सहभागी महिला उद्यमीहरू सरु केसी, प्रतिभा रिजाल, कृती श्रेष्ठ लगायतले उद्योगहरूमा महिला सहभागिता अभिवृद्धिमा बेलायत सरकारले ध्यान दिनु पर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले प्रदेश १ मा जलविद्युत, कृषि उत्पादन र खनिज पदार्थमा ठुलो सम्भावना भएपनि प्रविधिको अभावमा प्रयोग गर्न नसकिएको बताए । त्यसकालागि बेलायत सरकारले समेत सहयोग गर्न सक्नेतर्फ राजदूत पोलिटलाई आग्रह गरे ।

कार्यक्रम बोल्दै राजदूत निकोला पोलिटले नेपालको औद्योगिक विकासका लागि बेलायती सहयोगका कार्यक्रमहरू मार्फत सहयोग गर्दै आइरहेको जानकारी दिए । विराटनगरलाई आफूले पनि नेपालकै दोस्रो ठुलो सहर र आर्थिक तथा औद्योगिक क्षेत्रका रूपमा चिनेको बताए ।

प्रदेश १ को औद्योगिक अवस्था बुझ्नका लागि आएको बताएका उनले सोमबार विहानमात्रै ट्राइकोट उद्योग, रघुपति जुटमिलमा स्थलगत निरीक्षण गरेर जानकारी लिएको बताए ।

राजदूतले सोमबार नै रिलायन्स स्पिनिङको बारेमापनि जानकारी लिएका छन् भने इटहरीमा बेलायती सरकारकै कार्यक्रमहरू अन्तरगत दूध उत्पादनको क्षेत्रमा भइरहेका लगानीबारे जानकारी लिने छन् ।

उनले इलामको चियाको अवस्थाबारे त्यहाँ पुगेर जानकारीहरू संकलन गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *