तीज व्रत : शिवालयहरूमा श्रद्धालु महिलाको घुइँचो (तस्बिरहरू)
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज देशभर हिन्दुनारीहरूले देवाधिदेव भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले पाशुपत क्षेत्रको गौरीघाटमा तपस्या गरेर भगवान् शिव पति पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने विश्वास रहँदै आएको छ ।
यस्तो छ कथा
पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्नो समस्या साथीहरूलाई सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसिन् र महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।
यसरी पार्वती, साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको जनविश्वास छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
तस्बिरमा हरितालिका तिजमा गोकर्णेश्वर महादेवमा भगवान् शिवको पूजाआराधना गर्दै श्रद्धालुहरू :-