आयोजक विराट भेट्रान सेमिफाइनलमा
विराटनगर । विराट मेघा भेट्रान क्लब ‘बि’ विराटनगरमा जारी विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । मंगलबार राती विराटनगरको सहिद मैदानमा सम्पन्न खेलमा पाहुना टोली मधेश प्रदेशको लहान भेट्रान क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक विराटले सेमिफाइनलको यात्रा तय गरेको हो ।
रोमाञ्चक बनेको खेलमा लाहानको लागि खेलको चौथो मिनेटमा तोयाराम भुजेलले गोल गर्दै अग्रता दिलाएका थिए । सुरुवाती चरणमै गोल आत्मसात गरेर कमजोर देखिएको आयोजक विराट बी विरुद्ध लहानले खेलको १५ औँ मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको थियो ।
डी बक्सभित्र विराटका मोतीप्रसाद घिमिरेको हातमा बल लागेपछि पाएको पेनाल्टीमा लाहानका भुजेलले दोस्रो गोल गरेका थिए । पेनाल्टी प्रहारको ८ मिनेट नबित्दै खेलको २३ औँ मिनेटमा कृष्ण शाक्यले आयोजक विराटका लागि आकर्षक गोल गरेर अन्तर घटाए ।
पहिलो हाफमा दुई–एक गोलले पछि परेको विराटको खेल दोस्रो हाफमा लयमा फर्किएको थियो । खेलको ४७ औँ मिनेटमा आयोजकका लागि कृष्णले पुनः दोस्रो गोल गरे । त्यसपछि निर्धारित समय सकिँदासम्म दुवै टोली समान दुई गोलको बराबरीमा रहे ।
निर्धारित समयसम्म बराबरीमा खेल टुङ्गिएपछि खेल ट्राईबेकरमा गएको थियो । क्रममा घरेलु टोली विराटका लागि कृष्ण शाक्य, शेरबहादुर थापा, अरुण लामा र गोलरक्षक प्रकाश मल्लले गोल गरेका थिए । विराटका महानन्द राजवंशीको प्रहार भने खेर गएको थियो ।
अर्कोतर्फ, लाहानका लागि तोयाराम भुजेल, देउमान लिम्बू, र अमिर लामाले गोल गरेका थिए । लाहानका टिपेन गिरी र लोकबहादुर आलेको प्रहार भने खरे गएको थियो ।
याेसँगै जित हात पारेको आयोजक विराट बी ले बिहीबार हुने प्रतियोगिताको पहिलो सेमिफाइनलमा मोरङको सिद्राहा भेट्रान क्लबसँग स्पर्धा गर्ने प्रतियोगिता संयोजक वसन्त राज अर्यालले जानकारी दिए ।