आकांक्षी कोइरालाको क्षेत्रमा धेरै, समानुपातिकमा एउटै प्रदेशमा ५६ जनासम्मको नाम सिफारिस
विराटनगर । नेपाली कांग्रेसले मोरङका धेरै क्षेत्रमा उम्मेदवार सिफारिस गर्ने क्रमलाई अन्तिम चरणमा पुर्याएको छ । संघ र प्रदेशको नाम सिफारिस गर्ने बारेमा नेपाली कांग्रेसका सबै प्रदेश क्षेत्रीय समितिहरूले मंगलवार र बुधबार दिनभरि नै नाम सिफारिस गर्ने बारेमा छलफल गरेको भए पनि केही क्षेत्रको नाम टुंगो लगाउँदै गएको छ ।
प्रदेशमा नयाँ अनुहार प्रशस्तै आकांक्षी देखिएका छन् । डा शेखर कोइरालाको निर्वाचन क्षेत्र मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा प्रदेशमा समानुपातिक आकांक्षी धेरै देखिएका छन् ।
संघीय सांसदको नाम सिफारिस भएर आएको छैन भने प्रदेश (क) र (ख)को नाम सिफारिस भएको छ । संघीय निर्वाचन क्षेत्रको भोलि नाम सिफारिस गर्ने तयारी रहेको क्षेत्रीय सभापति देवराज तामाङले जानकारी दिए । निर्वाचन क्षेत्र ६ प्रदेश (क) मा प्रदेश सांसदको उम्मेदवारका लागि १४ जनाको नाम सिफारिस गरिएको छ।
नाम सिफारिस भएकाहरूमा दीपक भगत, जनार्दन चौधरी, श्रीकुमारी गच्छदार, रञ्जन ओझा, बालचन्द माझी, बासु कोइराला, सुरेन्द्रबहादुर बस्नेत, केदार कार्की, चेतराज रेग्मी, अशोक रिजाल सहित १४ जना छन् । क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ सहित ४९ जनाको नाम समानुपातिकमा सिफारिस भएको प्रदेश (क) क्षेत्रीय सभापति दीपक भगतले जानकारी दिए ।
निर्वाचन क्षेत्र ६ प्रदेश (ख)मा उम्मेदवारका आकांक्षी १६ जना देखिएका छन् । नाम सिफारिस भएर आएकाहरूमा नाम कहलिएका उद्योगी व्यापारी देखि अहिलेका समानुपातिक सांसद र मन्त्रीको नाम पनि सिफारिस भएको छ ।
प्रत्यक्ष तर्फ सिफारिस भएर आएका १६ जनामा दामोदर कोइराला, इन्द्र खत्री, बिन्दीया कार्की, केदार कार्की, सुधीर अर्याल, सुनिल दाहाल, जनार्दनराम निरौला, दीपकप्रसाद लोहनी, भविशकुमार श्रेष्ठ, जितेन्द्र गोल्छा, उमादेवी घिमिरे, रबिन दाहाल, मनोज साह, धिरज अधिकारी, अभिनाश बोहरा सहित प्रत्यक्षमा १६ जनाको नाम आएको छ । समानुपातिकमा ५६ जनाको नाम आएको प्रदेश निर्वाचन क्षेत्र (ख)का क्षेत्रीय सभापति मधुबाबु तिवारीले जानकारी दिए ।
क्षेत्र ४ मा तत्कालीन मेयर र मन्त्री
निर्वाचन क्षेत्र नम्बर ४ मा संघीय ससदको लागि प्रत्यक्षमा ५ जनाको नाम सिफारिस भएको छ । यस अघि यो क्षेत्रबाट निर्वाचित हुँदै आएका महेश आचार्य र दिलीप गच्छदार सहित अमृत अर्याल, गुरुराज घिमिरे र भीम पराजुलीको नाम सिफारिस भएर आएको क्षेत्रीय सभापति विनोद बस्नेतले जानकारी दिए ।
त्यस्तै निर्वाचन क्षेत्र ४ प्रदेश ९क० मा नन्दु सरदार, सत्यनारायण भगत, शेखर विश्वास, विजयकुमार माझी, वैजु विश्वास, डिल्ली राम गिरी, रामबाबु श्रेष्ठ र डम्बर राई रहेका छन् । २९ जना समानुपातिकमा सिफारिस भएका छन् ।
निर्वाचन क्षेत्र ४ प्रदेश (ख) मा १२ जनाको नाम सिफारिस भएको छ । विनोद कुमार बस्नेत, विजय सापकोटा, सुबोध निरौला, विनायक पन्त, राजु मास्के, केदार अधिकारी, सुची चौधरी, कैलाश भट्टराई, सरोजकुमार अर्याल, दीपक चापागाईँ, भीमप्रसाद रिजाल, विद्यानन्द चौधरीको नाम सिफारिस भएको छ। (ख)बाट पनि २९ जनाको नाम समानुपातिकमा सिफारिस भएको छ।
निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश (क) मा रविन राई, शिवनारायण सिंह गन्गाई, कन्हैयालाल राजवंशी, जीवन पनेरुको नाम सिफारिस भएको छ। त्यस्तै निर्वाचन क्षेत्र २ प्रदेश (ख)मा प्रत्यक्षमा मदनप्रसाद संग्रौला, यदुकुमार बिष्ट, सुमन कुँवर, इन्द्रमणि थापा, गोपाल सेढाईँ, महेश्वर राजवंशी, तीर्थ कार्की र विनोद कार्कीको नाम सिफारिस भएको हो । निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले प्रतिनिधिसभामा सुनिल शर्माको नाम एकल सिफारिस गरिसकेको छ।