२०७४ मा जितेका सबै क्षेत्रमा यो पटक पनि जित्छौँ : प्रदेश अध्यक्ष शाह
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले २०७४ सालको निर्वाचनमा एमालेले जितेको सबै निर्वाचन क्षेत्रमा यस पटक पनि एमालेले नै जित्ने दाबी गरेका छन् । अध्यक्षले शाहले बिहीबार प्रदेश पार्टी कार्यालय सुर्खेतमा पत्रकार सम्मेलनमा बोल्दै कर्णालीमा एमालेले आफ्नो वर्चस्व कायममै राख्ने दाबी गरेका हुन् ।
अध्यक्ष शाहले एमाले कर्णालीमा जसरी अघिल्लो चुनावमा पहिलो दल बनेको थियो त्यसरी नै यो पटक पनि पहिलो दल बनाउनका लागि आन्तरिक रणनीति गरिहरेको सङ्केत दिए । शाहीले कर्णाली प्रदेशमा रहेका १० वटा जिल्लाका १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र २४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये २०७४ मा एमालेले जितेका सबै निर्वाचन क्षेत्रमा यस पटक पनि एमालेले नै जित्ने दाबी गरे ।
२०७४ को निर्वाचनमा एमालेले प्रतिनिधि सभा १२ सिटमा ६ र प्रदेश सभा २४ सिटमा १४ सिट एमालेले जितेको थियो । ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन थियो, यस पटकको निर्वाचनमा पनि गठबन्धन छ। तर, त्यो गठबन्धनसँग भिड्नका लागि एमाले कर्णाली प्रदेशको लिडरसिपले एमालेलाई एकताबद्ध रूपमा अगाडी बढ्ने छ । साथै हामीले हिजोको भन्दा राम्रो अवस्था पार्टीलाई पुर्याउँछौँ । यो निर्वाचनको कुरा हो । हामी आकलन गर्दै छौँ । हिजो भन्दा हाम्रो अवस्था राम्रो हुन्छ।’ अध्यक्ष शाहले भने ।
शाहले टिकटका लागि आकाङ्क्षीहरू धेरै भएको तर, अवसर सीमित भएका कारण असन्तुष्टिहरूलाई मिलाएर लैजाने बताए । उनले भने, ‘नेकपा एमालेमा एक प्रकारको आकर्षण छ । त्यो आकर्षणलाई हामीले विभिन्न गतिविधिबाट व्यवहारमा देखाउनुपर्छ । त्यसैले अन्य पार्टी परित्याग गरेर आएका साथीहरूलाई पनि स्थान दिनुपर्छ भनेर त्यसै अनुसार हामीले फिलिङ गरेका छौँ ।’
साथै, अध्यक्ष शाहले पार्टीको जिम्मेवारी पाएको व्यक्तिलाई जनताले चिनेको र उसले श्रम गरेर आफूलाई खारेको अवस्थाका व्यक्तिलाई पार्टीले स्थान दिन गरेको उल्लेख गरे ।